काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मंगलवार(आज) दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने खेलमा प्रदेश–१ र बागमती प्रदेशबीच खेल हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । प्रदेश–१ र बागमती पहिलो जितको खोजीमा हुने छन् । पहिलो खेलमा दुवै टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ मा नै सुरु हुनेछ । एपीएफ लगातार दोस्रो जितको खोजीमा हुनेछ । सुदूरपश्चिम पहिलो जितको योजनामा रहेको छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।