काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेट अन्तर्गत सोमबार(आज) दुई खेलहरू हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । दुवै प्रदेश जित निकाल्दै सुखद सुरुआतको योजनामा हुने छन् । दुवै टोलीको यो पहिलो खेल हो ।
यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे नै सुरु हुनेछ ।
पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई हराएको थियो । प्रदेश–१ भने सुखद सुरुआतको लक्ष्यमा हुनेछ । प्रदेश–१ को यो पहिलो खेल हो ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन् ।