काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा आज सोमबार दुई खेल हुँदैछ । होर्वाटमा हुने पहिलो खेलमा बंगलादेश तथा नेदरल्याण्ड्स खेल्दै छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।
दुई टोलीले हाल सम्म टी ट्वान्टीमा तीन खेलमा प्रतिस्पर्धा गरेका छन् । दुई खेलमा बंगलादेश तथा एक खेलमा नेदरल्याण्ड्स विजयी भएको छ ।
सुपर १२ को पहिलो खेल भएकाले दुवै टोली जित सहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छन् । नेदरल्याण्ड्स पहिलो राउण्डमा समूह एको उपविजेता भएर सुपर १२ मा आएको हो । बंगलादेश सिधै सुपर १२ मा छनोट भएको हो ।
आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ । होर्वाटमा हुने दुई टिमबीचको खेल पौने २ बजे सुरु हुनेछ ।
दुई टिमबीचको पछिल्ला पाँच टी ट्वान्टी खेलमा दक्षिण अफ्रिका चार खेलमा विजयी बनेको छ भने एक खेल नतिजा विहीन भएको थियो ।
यस विश्वकपमा १६ राष्ट्रबीच खेल भइरहेकोमा ४ राष्ट्र पहिलो चरणबाट बाहिरिएका छन् । दोस्रो चरण सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानिस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ए विजेताको रुपमा श्रीलंका र पहिलो राउण्ड समूह बीको उपविजेताको रुपमा आयरल्याण्ड रहेका छन् ।
समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह बीको विजेताका रुपमा जिम्बाबे र पहिलो राउण्ड समूह एको उपविजेताको रुपमा नेदरल्याण्ड्स रहेका छन् ।
विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।