Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्र, ‘बिना ढेउवा के भिसा मिलते हैं’

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्र, ‘बिना ढेउवा के भिसा मिलते हैं’

  • बिहिवार, कार्तिक ३ २०७९

  • 919
    SHARES

  • माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्र, ‘बिना ढेउवा के भिसा मिलते हैं’

    काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ ।

    स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो ।

    नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । आयोगले लेखेको पत्रमा भनिएको छ, ुउपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जित्दा देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।

    आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ । ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था छ ।

    आयोगले माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको हो ।


    बिहिवार, कार्तिक ३ २०७९०२:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij