Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नवौँ राष्ट्रिय खेलकुद आज सकिँदै

नवौँ राष्ट्रिय खेलकुद आज सकिँदै

  • बिहिवार, कार्तिक ३ २०७९

  • 1.1K
    SHARES

  • नवौँ राष्ट्रिय खेलकुद आज सकिँदै

    काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने भएको छ । समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ । महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।

    महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।

    प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडामा रहेका खेल मैदानमा प्रमुख खेल सञ्चालन भइरहेका छन् ।

    राष्ट्रिय खेलकुद आयोजना पोखरा महानगरपालिका र पोखरेलीका लागि गौरवको विषय रहेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार समारोहमा आमनगरवासीको उल्लेखनीय सहभागिता रहनेछ ।

    समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

     


    बिहिवार, कार्तिक ३ २०७९०८:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij