Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
(खास खबर)

आगामी सरकार गठनबारे दलहरूका आ–आफ्नै दाबी

आगामी सरकार गठनबारे दलहरूका आ–आफ्नै दाबी

विश्लेषक भन्छन्, चुनावको नेतृत्व गरेको गठबन्धनबाटै बन्छ
  • शनिवार, आश्विन २९ २०७९

  • 1.7K
    SHARES

  • आगामी सरकार गठनबारे दलहरूका आ–आफ्नै दाबी
    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी यतिबेला राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् । सत्ता गठबन्धनकाविरुद्ध प्रतिपक्ष दल नेकपा एमालेले पनि गठबन्धन नै बनाएर चुनावमा होमिएको छ । निर्वाचनको मिति नजिकिएसँगै यसपछि कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । सत्ता गठबन्धनका नेताहरूले यसपछिको सरकार पनि आफूहरूकै बन्ने दाबी गरेका छन् । गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गर्दै सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेका प्रवक्ता डा. प्रकाशशरण महतले  गठबन्धनको मूल लक्ष्य प्रतिगमनको दिशामा देशलाई लैजाने प्रयासलाई रोक्न र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभयो । उहाँले आगामी निर्वाचन सत्ता गठबन्धनले जिते मात्रै देशले लय समात्ने जिकिर गर्नुभयो ।
     
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी गर्नुभएको छ । नेता आचार्यले गत निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकारले कुनै राम्रा काम गर्न नसकेको भन्दै अबको देश विकासको विकल्प गठबन्धन मात्रै रहेको बताउनुभयो । उहाँले गठबन्धनले पनि देशलाई सही दिशा दिन नसके देशको अवस्था कल्पनायोग्य नरहने दाबी गर्नुभयो । 
     
    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ । उहाँले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाउनुभयो । उहाँले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधान संगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको जिकिर गर्नुभयो
     
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले चुनावको लागि गठबन्धन नगरेको बताउँदै संविधान र लोकतन्त्रमाथि खतरा आएपछि उपलब्धिको रक्षा गर्न गठबन्धन गरेको बताउनुभएको हो । उहाँले अहिलेसम्मको उपलब्धिसँग आर्थिक क्रान्ति गर्न नसके केही वर्षमा दुर्घटना पर्ने दाबी गर्नुभयो । त्यसको लागी मंसिर ४ को निर्वाचनलाई सदुपयोग गर्नुपर्ने उहाँको भनाई छ ।
     
    यता नेकपा एमाले पनि आफ्नो नेतृत्वमा आगामी सरकार बन्ने दाबी गरेको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । देशलाई संकटको भुमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने उहाँको दाबी छ ।
     
    यता राजनीतिक विश्लेषकहरूले दलहरूले आ–आफ्नो नेतृत्वमा यसपछिको सरकार बनाउने दाबी गर्नु स्वाभाविक भएको  बताएका छन्  । अहिले चुनावमा गरिएको गठबन्धन  भोलि सरकार बनाउँदासम्म नरहन सक्ने भन्दै पछि फरक पनि हुन सक्ने बताएका छन् । वरिष्ठ पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहालले चुनावकै गठबन्धन कायम रह्यो भने यहीँ चुनावको नेतृत्व गरेको गठबन्धनबाट नै आगामी सरकार बन्ने दाबी गर्नु भएको छ ।
     
    आगामी सरकार कसको नेतृत्वमा बन्छ यसको छिनोफानो मंसिर ४ को परिणामले तय गर्ने छ । जनताले बहुमत दिए पछि देशलाई उन्नतिप्रगतिको मार्गमा अघि बढाउने नेतृत्व देशलाई चाहिएको छ । देशको आवश्यकता र सम्भावनाको गहिरो अध्ययनविना लहडको भरमा देशको विकास र समृद्धिको रथ हाँक्छु भनेर गुड्डी हाँक्नेहरूलाई  मतदाताले चिन्न जरुरी छ ।
     


    शनिवार, आश्विन २९ २०७९०८:३५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij