गुल्मी । नेपालीहरूको महान् चाड बडादसैँमा मान्यजन, ज्येष्ठ नागरिक तथा उच्च पदस्थ व्यक्तिबाट टिका र आशीर्वाद लिने चलन छ । शक्ति पीठ, तथा शक्ति केन्द्रको दर्शन गरी आशीर्वाद लिने चलन छ ।
आर्थिक रुपमा सम्पन्न तथा हुने खानेका लागि दसैँ पर्व विशेष रुपमा मनाउने चलन छ । विपन्न वर्गका लागि दसैँ पर्व आउनु र नआउनुको खासै अर्थ राख्दैन । आर्थिक बोझ थप्ने भएकाले गरिब परिवारले दसैँलाई दशाको संज्ञा दिने गरेको पनि सुनिन्छ ।
चाडपर्वको महत्त्व र गरिबीको बाध्यता बुझ्ने मन भयो भने गरिब र विपन्न परिवारमा समेत दसैँ लगायत चाडपर्व उल्लासमय बन्दो रहेछ । विगतमा दसैँ कस्तो हुन्छ भनेर अनुभूत गर्न नपाएका गुल्मीका विपन्न माझी समुदायले पछिल्लो समय दसैँ पर्व विशेष रुपमा मनाउन थालेका छन् ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले दसैँ पर्व विपन्न माझी बस्तीमा पुगेर मनाउन थालेपछि सो समुदायमा दसैँको सम्पन्न परिवारमा जस्तै रौनक छाउन थालेको छ ।
नेता भण्डारीले विगत एक दशक देखि विपन्न माझी परिवारमा दसैँ पर्व मनाउने र खुसी साटासाट गर्न थालेपछि आफ्नो समुदायमा समेत दसैँको खुसीयाली छाउन थालेको माझी परिवार बताउँछन् ।
दसैँ मनाउन शनिबार नेता भण्डारीले गुल्मी जिल्लाको दरबार गाउँपालिका–१ बलिथुम स्थित माझी बस्तीमा पुग्दा सयौँ माझी परिवारमा खुसीको माहौल देखिन्थ्यो ।
स्थानीय होमबहादुर माझी विपन्न समुदायमा केन्द्रीय नेता सहित दसैँ मनाउन थाले पछि चार्ड पर्वको फरक अनुभूत गर्न पाएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएको आफ्नो समुदायमा विगतका बर्सहरूमा दसैँ पर्व कस्तो हुन्छ भन्ने अनुभूतसमेत गर्न नपाएको बताउनुभयो ।
उहाँले खोलमा माछा मारेर जीविकोपार्जन गर्ने आफ्नो समुदायमा चाडपर्वको मनाउने चलन नभएको बताउँदै भन्नुभयो ‘‘दसैँ लगायत चार्डपर्व धनी तथा हुने खानेका लागि मात्र हो भन्ने थियो । तर डा. चन्द्र भण्डारीले हामी जस्तो विपन्न समुदायमा दसैँ मनाउन थाले पछि बल्ल हामीले दसैँ पर्वको अनुभव गर्न पाएका छौं।’’
उहाँले नेता भण्डारी आफ्नो बस्तीमा आएर दसैँजस्तो विशेष पर्व मनाउन थालेपछि आफ्नो समुदाय अत्यन्तै खुसी र हर्षित भएको प्रतिक्रिया दिनुभयो ।
गुल्मी जिल्लाका अत्यन्तै विपन्न समुदाय माझी बस्तीको शैक्षिक, आर्थिक तथा सामाजिक विकासको दृष्टिले पछाडि परेको छ ।
नेता भण्डारीले उक्त विपन्न परिवारको अवस्था सुधार गर्ने उद्देश्यले चाडपर्व विशेष कार्यक्रम सोही समुदायमा मनाउन थालेको उहाँका सहयोगी माधव न्यौपानेले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका कारण दैनिक जीविकोपार्जन गर्न समेत कठिन माझी समुदायमा नेता भण्डारीले दसैँ पर्वको खुसी साटासाटको साथै सामाजिक तथा शैक्षिक सुधारका लागि झण्डै एक दशक पहिले देखि विशेष अभियान नै सुरु गर्नु भएको छ ।
स्थानीय होम बहादुर माझीका अनुसार नेता भण्डारीको बलिथुमको माझी बस्तीमा मात्र ५० वटा पक्की घर निर्माण गरी माझी परिवारलाई हस्तान्तरण गरिएको छ ।
शैक्षिक अवस्था अत्यन्तै कमजोर भएको सो बस्तीमा नेता भण्डारीको पहलमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ ।
माझी परिवारमा बालबालिकालाई विद्यालय पठाउने चलन अत्यन्तै कम थियो । गाउँमा विद्यालय स्थापना भएपछि माझी परिवारले आफ्ना सबै बालबालिका विद्यालय पठाउन थालेका छन् ।
ती बालबालिका लागि नेता भण्डारीले शैक्षिक सामाग्री तथा उनका अभिभावकलाई आर्थिक सहयोग समेत उपलब्ध गराउन थालेपछि माझी बस्तीको दैनिकी नै फेरिएको छ ।
दसैँ पर्व मनाउन नेता भण्डारी प्रत्येक वर्ष माझी बस्ती पुग्दा उनीहरूले आफ्नो अभिभावक आएको अनुभूत गर्ने गरेको स्थानीय लक्ष्मण भण्डारीले बताउनुहुन्छ ।
नेता भण्डारीको पहलमा गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित माझी बस्तीमा झण्डै १०० बटा पक्की भवन निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको छ । त्यसैगरी छत्रकोट गाउँपालिका–१ बोटेगाँउ माझी बस्तीका बालबालिकालाई समेत नेता भण्डारीको विशेष पहलमा बालबालिकालाई शैक्षिक सामाग्री तथा अभिभावकलाई सहयोग सुरु भएसँगै समुदायको अवस्थामा परिवर्तन आएको छ ।