Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

हिलाम्मे भयो दसैँ, लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम, उच्च सतर्कता अपनाउन गृहको आग्रह (खास खबर)

हिलाम्मे भयो दसैँ, लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम, उच्च सतर्कता अपनाउन गृहको आग्रह (खास खबर)

  • बिहिवार, आश्विन २० २०७९

  • 738
    SHARES

  • हिलाम्मे भयो दसैँ, लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम, उच्च सतर्कता अपनाउन गृहको आग्रह (खास खबर)
    काठमाडौं । यसवर्षको दसैँमा झरीले जनजीवन प्रभावित भएको छ । अष्टमीदेखि सुरु भएको पानी अहिलेसम्म लगातार परिरहेको छ । अविरल वर्षाले देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । बागमती नदीको बहाव बढेको छ । नारायणी नदीको बहाव बढेपछि गण्डकी बाँधका २२ वटा ढोका खोलिएको छ ।
     
    देशका विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । दसैँमा टिका लगाउन जाने आउनेहरू सडक अवरुद्ध हुँदा बिच बाटोमै रोकिएका छन् । निरन्तरको झरीका कारण देशका अधिकांश स्थानका नदीको बहाव बढेको छ भने पहिरोको खतरा पनि बढेको छ । 
     
    पानी पर्ने क्रम नरोकिएकाले नदी तटीय क्षेत्रमा उच्च सतह अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  शनिवार सम्म लगातार र भारी वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले जानकारी दिनुभएको छ । 
     
    मौसमविद्हरूले अहिलेसम्म मौसम नबाहिरिएकाले लगातार वर्षा भइरहेको बताएका छन् । मनसुन बाहिरिने क्रम पछाडि सर्नुमा जलवायु परिवर्तनलाई पनि लिन सकिने मौसमविद् वासीको भनाई छ । 
     
    निरन्तर परेको वर्षाले केही ठाउँमा पहिरो गएकोले सडक अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड छिनमै खुल्ने र छिनमै बन्द हुने गरेको छ । 
     
    निरन्तर परेको वर्षाका कारण मनाङ, मुस्ताङ , लगायत कर्णालीका जिल्लामा धेरै क्षति पुगेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभएको छ । निरन्तर वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम हुने हुँदा सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ । 
     
    बाढी पहिरो गई जनधनको क्षति हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । कहीँ समस्या पर्‍यो भने नजिकैको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गर्नुभएको छ । 
     
    दसैँको टिका लगाएर कोही गन्तव्यतिर फर्किँदै छन् भने कोही घरमा टिकाटाला सकेर टाढाको आफन्तकहाँ हिँडेका छन् । दसैँका यात्रुलाई पहाडी कच्ची बाटो हिँड्दा सावधानी अपनाएर, बिचार गरेर हिँड्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।
     
    यतिखेर दसैँमा घरमा सवैजना जम्मा भएको बेला खेतीबाली स्याहार्ने बेला पनि हो । विशेषगरी धान पाकिरहेको अवस्था छ । लगातार वर्षा भइरहेकाले यस्तो बेलामा धान नकाट्न पनि मौसमविद्ले आग्रह गरिरहेका छन् । 
     
    लगातारको वर्षाले मनाङका उच्च क्षेत्रमा आज हिमपात भएको छ । नार्पा भूमि गाउँपालिका र मनाङ डिस्याङ गाउँपालिकाका उच्च क्षेत्रमा बिहीबार हिमपात भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।   
     
    सामान्यतः कात्तिक अन्तिमदेखि हिमाली क्षेत्रमा हिमपात हुने भए पनि यस वर्ष लगातारको वर्षा र त्यसपछि बढेको चिसोका कारण असोजमै हिमपात भएको हो। 
    निरन्तर परेको वर्षाका कारण आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । वायुसेवा कम्पनीहरूले हिजो र आजका केही उडानहरू रद्द गरेका छन् । 
     
    आइतबार मात्र पानी पर्न बन्द हुने भएकाले बाढी र पहिरोको जोखिम भएकाले यात्रा गर्दा वा घरमा बस्दा उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ । दसैँको यात्रा गर्दा सुरक्षित किसिमले गरौं । 
     


    बिहिवार, आश्विन २० २०७९०८:२९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij