काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरू सिट बाँडफाँटलाई अन्तिम रूप दिन आज टिकाको दिन पनि गृहकार्यमा व्यस्त छन् । दसैँको समयमा समेत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक निरन्तर बस्दै आएको छ । आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक चलिरहेको छ ।
आगामी मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धनले सिट बाँडफाँटको अन्तिम टुंगो अझै पनि लगाउन सकेको छैन । केहिदिनदेखि गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि अझै सहमति भएको छैन । प्रदेश सभाको सिटका बारेमा छलफल जारी रहेको नेताहरूको भनाइ छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताका खेलाडीहरूले देशलाई खेलौना बनाइरहेको भन्दै , पार्टीलाई मिलाएर लैजान र विद्रोहको अप्रिय अवस्था आउन नदिन आफू प्रयत्नशील रहेको बताउनु भएको छ । उहाँले गठबन्धन सहमति नजिकै पुगिसकेको र भोलि बिहानसम्म टुंगोमा पुग्ने दाबी गर्नुभएको छ । नेता पौडेलले गठबन्धनमा भोलि बिहानसम्म सिट बाँडफाँटमा हस्ताक्षर हुने जानकारी दिनुभएको छ । पौडेलका अनुसार विराटनगरदेखि नेपालगन्जसम्म मिलाउन बाँकी छ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा “९० प्रतिशत कुरा मिलिसकेको भन्दै अब धेरै गाह्रो नभएको बताउनुहुन्छ । ठुला पार्टीहरूले साना पार्टीहरूलाई अलि पेल्न खोजेको उहाँको आरोप छ ।
अब गठबन्धनको विकल्प नभएको पनि उहाँले औंल्याउनु भएको छ । “विगतमा हामीले खेलेको भूमिका, आधार र हैसियत अनुसार सिट पाएका छैनौं। यसमा जसपा र हाम्रो भावना मिल्छ। तर अब हामीसँग मिलेर जानुको विकल्प छैन,” खनालले भन्नुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पनि गठबन्धन सहमतिको नजिक रहेको बताउनुभयो ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिने समय आउन ४ दिन मात्रै बाँकी छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज २३ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उम्मेदवारी दिनुपर्ने छ । राजनीतिक दलहरूले भने सिट बाँडफाँडको विषय टुङ्गो लगाउन सकिरहेका छैनन् । जसका कारण आकाङ्क्षी नेताहरू पनि अन्योलमा छन् ।
गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।
हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरूले बताएका छन् ।
तर एकीकृत समाजवादी र जसपा दुवै यसमा सहमत छैनन् । सिट बाँडफाँटप्रति असन्तुष्ट जसपाले अरू दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय गरेपछि गठबन्धनमा आबद्ध दलहरू दबाबमा परेका छन् ।