काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट चुनाव लड्ने लगभग निश्चित जस्तै भएको छ । गोरखा २ बाट यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गर्नुभएको हो । चितवनबाट उठ्न लाग्नुभएका प्रचण्डलाई त्यहाँ कांग्रेसले नमानेर गोरखातिर लागेको धेरैले अड्कल काटिरहेका छन् ।
प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइसँगकै सल्लाहमा चितवन–३ छाडेर गोरखा–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरेको सत्ता गठबन्धन र माओवादी केन्द्रका नेताहरूले बताउने गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिजो मात्रै प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गर्नुभएको हो ।आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति पनि भएको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँबाट लड्ने भन्ने निर्णय नभएको बताउनुहुन्छ । बाबुराम भट्टराई गोरखाबाट उठ्ने, नउठ्ने उहाँको कुरा भएको गुरुङको तर्क छ । प्रचण्ड संविधानतः जुनसुकै निर्वाचन क्षेत्रबाट उठ्न सक्ने र प्रचण्डका लागि १ सय ६५ क्षेत्र नै खुला रहेको पनि महासचिव गुरुङको भनाई छ ।
उता माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाट गोरखा पठाई नसकेको दाबी गर्नुहुन्छ । दाहालले आजसम्म चितवन छाड्नुभएको छैन। म जान्छु वा आउँदिन पनि भन्नुभएको छैन। चितवनमा उहाँ हुने वा नहुने कुराले धेरै अर्थ राख्छ उहाँको भनाई छ ।
प्रचण्डका लागि प्रस्ताव गोरखा मात्र नभएर रोल्पा, रुकुम, कालिकोट, बर्दिया, सिन्धुलीबाट पनि आएको दाहालको भनाई छ । चितवन नभएर गोरखा गएको भन्ने कुरामा सत्यता नभएको उहाँको दाबी छ ।
नेता दाहालले प्रचण्ड अहिलेसम्म कहीँ पनि नदोहोरिएकाले मिडियामा अनेक शंका गरिएको पनि बताउनुभयो। शीर्ष नेताहरू शून्य जोखिममा लड्नुपर्छ भन्ने मनोविज्ञानले गोरखा जानुपर्छ भनिएको हुन सक्ने पनि उहाँको भनाई छ । प्रचण्डलाई चितवनमा कांग्रेसको समर्थन नभएर गोरखा जाने बाध्यता हो त भन्ने प्रश्नमा दाहालले कांग्रेसले नदिने भन्ने भ्रम मात्रै रहेको जिकिर गर्नुभयो।
यता, प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन–३ का नेतासमेत रहेका वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सार्वजनिक गर्नुभएको छ। पनेरुले फेसबुकमार्फत देशभित्र र बाहिरका परिवर्तन विरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको बताउनु भएको हो ।
चितवन– ३ मा कांग्रेसको भूइँकटहर समूहले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तय भइसकेको छ भने एमाले र राप्रपाका विक्रम पाण्डेबीच पनि सहकार्यको तयारी छ । सोही क्षेत्रमा रवि लामिछाने समेत उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला वाईसीएलका नेताले प्रचण्ड चितवन छाडेर अन्यत्र जान लागेको पुष्टि गर्नुभएको हो । चितवनमा चुनाव लड्नु प्रचण्डका लागि जोखिम हुने भन्दै यसअघि नै गोरखामा लैजाने पहल भइरहेको थियो ।
यसैबिच,पाँच दलीय गठबन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आज आग्रह गरेको छ । बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरूले अघि सार्ने उम्मेदवारहरूलाई विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।