Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वैकल्पिक शक्तिका अभियन्ता मिश्र अन्ततः राप्रपामा समाहित,  सफल होला त दरबारियासँगको यात्रा? (खास खबर)

वैकल्पिक शक्तिका अभियन्ता मिश्र अन्ततः राप्रपामा समाहित,  सफल होला त दरबारियासँगको यात्रा? (खास खबर)

  • बुधवार, आश्विन १२ २०७९

  • 794
    SHARES

  • वैकल्पिक शक्तिका अभियन्ता मिश्र अन्ततः राप्रपामा समाहित,  सफल होला त दरबारियासँगको यात्रा? (खास खबर)
    काठमाडौं । चुनावको मुखमा विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज एकता भएको छ । 
     
    काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । यो सँगै राप्रपामा चुनावी तागत थपिएको नेताहरूले दाबी गरेका छन् । 
     
    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनुहुने छ भने मिश्रसँगै आएका अरू नेताहरूको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनुहुनेछ ।
     
    एकता घोषणापत्रमा हस्ताक्षर गर्दै शीर्ष नेताहरूले संवैधानिक राजतन्त्रको पुर्नस्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाएका छन् । 
     
    राप्रपाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउनुभएका मिश्रले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज गरिनुपर्ने बताउनुभयो । नेपालमा संघीयताको कुरा गर्दा अझै पनि आर्थिक पाटोको मात्रै कुरा सुनिने गरेको तर यो राजनीतिक रूपबाट पनि धान्न नसकिने मिश्रको तर्क छ । 
     
    एकता घोषणा कार्यक्रममा मिश्रले आफूमा भन्दा नेपाली कांग्रेसमा बढी विचलन आएको टिप्पणी समेत गर्नुभएको छ।  विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्ताबेज ल्याएपछि आफूमा विचलन आएको सार्वजनिक टिप्पणी भएको भन्दै मिश्रले कांग्रेसमा धेरै विचलन आएको दाबी गर्नुभएको हो ।
     
    एकता कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।  कार्यक्रममा बोल्ने नेताहरूले ठुला पार्टीको क्रियाकलापप्रति आपत्ति जनाउँदै कांग्रेस, एमाले र माओवादीमाथि कडा आलोचना गरेका थिए ।   
     
    अध्यक्ष लिङ्देनले चुनाव नजिकिँदै गर्दा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको भन्दै राप्रपा बलियो विकल्प रहेको बताउनुभएको हो । पार्टीमा रवीन्द्र मिश्र जस्ता व्यक्ति भित्रिँदै गर्दा बल थपिएको भन्दै राप्रपा नेता पशुपति शमशेर जबराले आगामी निर्वाचनमा सबै मिलेर ठुला पार्टीको ब्रम्हलुट अन्त्य गर्ने दाबी गर्दै फेरबदल गर्ने बताउनुभयो ।
     
    मिश्रसँगै बागमती प्रदेशकी पूर्व सांसद शोभा शाक्य समेत राप्रपामा प्रवेश गर्नुभएको छ । राप्रपामा रवीन्द्र मिश्र प्रवेश गर्ने कार्यक्रममा अन्य नेताहरू आए पनि प्रकाशचन्द्र लोहनी भने आज राष्ट्रियसभा गृहमा आउनुभएको थिएन ।  
     
    नेपालका पुराना राजनीतिक दल र नेताहरूको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको अभियानमा होमिएका मिश्र अन्ततः पुरातनवादी सोच बोक्ने पार्टीमा समाहित भएका छन् । 
     


    बुधवार, आश्विन १२ २०७९०८:४१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij