काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतवारका दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता २०७९ लागू गरेको छ ।
आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन ३ वटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ ।
आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न÷गराउन निर्देशन दिएको हो ।
सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आयोगद्वारा जारी आचारसंहिता लागू हुनेछ ।
यसैगरि,निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।
‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन ब्यबस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदैछ । निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने उहाँले जनाउनुभयो ।
‘असोज १५ देखि २० गते सम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।