काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दिपक खड्काले गठवन्धनको विरोध गर्न एमालेले नसुहाउने र हास्यास्पद हुने बताउनु भएको छ । विगतमा गठवन्धनको संस्कृति एमालेले नै सुरु गरेकाले अहिले अरुले गरेको गठवन्धनको विरोध गर्नुको औचित्य नभएको उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले गठवन्धनको विरुद्धमा काँग्रेस भित्र उठेको आवाजलाई अस्वभाविक रुपमा लिनु नपर्ने बताउनु भयो ।
“अघिल्लो संसदीय निर्वाचनमा गठवन्धन नगर्दा के भयो, गत स्थानीय निर्वाचनमा गठवन्धन गर्दा के भयो, सबैले देखेकै छौँ, त्यसैले विरोधको अर्थ छैन,” उहाँले भन्नुभयो ।
निर्वाचन आयोगले घोषणा गरेको निर्वाचन आचार संहित पूर्ण रुपमा पालना गर्न काँग्रेस तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उम्मेदवारहरुले सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था निर्वाचन आचार संहितामा राख्नुलाई स्वभाविक रुपमा लिएको र स्वागतयोग्य भएको उहाँको भनाई थियो ।
संखुवासभाका काँग्रेस सभापति तथा पूर्व सांसद समेत रहनु भएका नेता खड्काले आफ्नो जिल्लामा गठवन्धन कार्यान्वयन गराउन र पार्टी भित्रको एकतामा समस्या नरहेको दावी गर्नुभयो ।
केन्द्रीय तहमा पार्टी भित्र देखिएको असन्तुष्टि उम्मेदवारहरुको छनौट पछि स्वतः साम्य हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।