काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार(आज) बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।
यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।
यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी,भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।
नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।