काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गर्दै प्रतिनिधिसभा आजबाट विघटित भएको छ । २०७४ सालको चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित २४० प्रतिनिधिसभा सदस्यहरू भोलिबाट भूतपूर्व बन्ने छन् । आज बसेको अन्तिम बैठक समापन गर्दै सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा भंग भएको घोषणा गर्नुभएको हो ।
प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनको आजको बैठकमा पनि दलका शीर्ष नेताले एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै घोचपेच र टिप्पणी गरेका छन् । छुट्टिनुअघि धन्यवाद आदान प्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुको साटो शीर्ष नेताहरू घोचपेच र एक अर्काविरुद्ध टिका टिप्पणीमा उत्रिएका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्मा भेट भएको बताउनुभएको छ । संसद् बैठकमा बोल्दै देउवाले अहिलेको सरकारले संविधान अनुसार मुलुक चल्ने वातावरण बनाएको बताउँदै सर्वोच्च अदालतको परमादेश नभएको भए सँगै काम गर्ने अवसर नै नपाउने भन्दै टिप्पणी गर्नुभयो।
देउवापछि बोल्नुभएका पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अहिलेको सरकारले निर्वाचनमा जानुलाई प्रतिगमन भनेको भन्दै आलोचना गर्नुभयो ।
ओलीले संसद्ले सरकार बनाउन पाउने संवैधानिक अधिकार खोसेर परमादेश जारी भएको कुरा आपसमै पोल खोलाखोल भइसकेको भन्दै प्रधानमन्त्री देउवालाई संसदबाटै जवाफ फर्काउनु भएको हो ।
ओलीले परमादेशबाट सरकार लिने बेला के के सेटिङ भएका थिए भन्ने पोल खुलिरहेको पनि बताउनुभयो। ओलीपछि बोल्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको कडा आलोचना गर्नुभयो। ओलीले निर्वाचन गर्न नभई देशलाई अँध्यारो सुरुङतिर लैजान प्रतिनिधिसभाको विघटन गरेको प्रचण्डले टिप्पणी गर्नुभयो ।
पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा भंग गरेको र निर्वाचनमा जानुलाई विरोध गरेको भन्दै भ्रम फैलाउन खोजेको भन्दै ओलीको प्रचण्डले आलोचना गर्नुभएको हो ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा गठबन्धनको राजनीति सुरु भएको बताउनु भयो। सम्बोधन गर्दै उहाँले पनि ओलीमाथि टिप्पणी गर्दै देशलाई ओलीले कता लैजाँदै हुनुहुन्थ्यो भन्दै स्मरण गराउनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको सर्वस्वीकार्यताका लागि चालू प्रतिनिधिसभाले पनि सम्बोधन नगरेको बताउनु भएको छ। चालू प्रतिनिधिसभाको अन्तिम बैठकअन्तर्गत आज बोल्दै उहाँले एउटै संसद् पटक पटक भंग गरेको इतिहास कायम भएको टिप्पणी गर्नुभयो।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल यस प्रतिनिधिसभाका अन्तिम वक्ता बन्नुभयो ।
बैठक समापन गर्दै सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको ११ अधिवेशन अन्तर्गत भएका कामकारबाहीको संक्षिप्त विवरण सुनाउनुभएको थियो । यसरी अन्तिम दिनको बैठक पनि तिक्ततापूर्ण बनाएर शीर्ष नेताहरू चुनाव केन्द्रित हुँदै छन् ।
।