Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिलो जनआन्दोलनका जिउदो सहिद विजयराज घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

पहिलो जनआन्दोलनका जिउदो सहिद विजयराज घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 741
    SHARES

  • पहिलो जनआन्दोलनका जिउदो सहिद विजयराज घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौँ । नेपाली रेडियो नेटवर्कको संचालक समितिका सदस्य स्व. बिजय घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    लामो समयदेखि क्यान्सरबाट पिडित रहनु भएका घिमिरेको काठमाडौस्थीत मेडिसिटी अस्पतालमा हिजो बेलुका निधन भएको थियो ।

    बरिष्ठ चार्टर एकाउन्टेन्ट समेत रहनु भएका घिमिरेलाई नेपाली राजनीतिमा जिउदो सहिद समेत भन्ने गरिएको थियो । पहिलो जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गरेका घिमिरेलाई प्रहरीले गोली प्रहार गरेपनि उहाँलाई नलागी सँगै रहनु भएका आफ्नै दाजू सुर्य घिमिरेलाई लागेर उहाँको मृत्यु भएको र विजय घिमिरे बाँच्न सफल भएकाले उहाँलाई जिउदो सहिद भन्ने गरिएको थियो ।

    त्यतिबेला २१ बर्षको उमेरमा आन्दोलनको नेतृत्व गर्नु भएका घिमिरले त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहनु भएको थियो । उहाँले पाल्पाको क्षेत्र नं. १ मा दुई पटक संघीय संसदका लागि उम्मेदवार बन्नु भएको थियो ।

    २०४३ सालमा काठमाडौको अमृत साईन्स क्याम्पसको स्ववियु सदस्य हुनु भएका घिमिरे १८ बर्षकै उमेरमा पाल्पा काँग्रेसको जिल्ला सदस्य हुनु भएको थियो ।

    २०४४ सालमा पार्टीले रामपुरको बेझाडमा आयोजना गरेको पुर्नमिलन कार्यक्रममा तत्कालिन शासकहरुले आक्रमण गरेर उहाँलाई मर्यो भनेर फालेका थिए । पछि लाश ल्याउन गएका सहयोद्धाहरुले जिवितै भेटेपछि तत्काल उपचार गर्न दौडाएर उहाँले पुर्नजीवन पाउनु भएको थियो । त्यही बर्ष नेविसंघका तत्कालिन केन्द्रीय अध्यक्ष बालकृष्ण खाँण सहित विजयलाई केलादीस्थीत प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

    नेपाली काँग्रेसको जिल्ला समिति, नेपाल बिद्यार्थी संघको जिल्ला समिति र त्रिभुवन बहुमुखी क्याम्पस समिति गरी एकैपटक तीन ओटै समितिको सचिव भएका घिमिरे ०४४ सालमा तत्कालिन शासकहरुले सर्वाधिक खोजिने पात्र हुनुहुन्थ्यो । त्यतिबेला तानसेनको बडिज्ञान टोलमा रहेको कोठामा सुरक्षाकर्मीहरुले बेला बेलामा छापा मारिरहेका हुन्थ्ये ।

    एक दिन उहाँ घरमै भएका बेला सुरक्षाकर्मीहरुले घर घेरा हालेर पक्राउ गर्न लागेका थिए । कतैबाट हामफालेर भाग्ने अवस्था नरहेपछि चतुर विजयले सुरक्षाकर्मीहरुलाई झुक्याउन साडी लगाएर टाउकोसम्म छोपेर पानी लिन जाने बाहनामा गाग्री लिएर भाग्नु भएको थियो ।

    २०४६ सालको जनआन्दोलनको पहिलो दिनमै गोली प्रहार गरेपनि छलिन सफल हुनु भएका घिमिरे प्रहरीको झनै खोजीमा पर्नु भएको थियो । प्रहरीले गोली प्रहार गरेपछि घटनास्थलबाट भागेर घर पुगेका विजयले सुत्केरी हुन लागेकी आफ्नी श्रीमतीलाई छोरी जन्मे “चारतारा” र छोरा जन्मे “जयनेपाल” नाम राख्न सुझाएर “तीनैलाई हेरेर चित्त बुझाउनु मेरो खोजी नगर्नु” भन्दै अनिश्चितकालका लागि सम्पर्क बिहिन हुनु भएको थियो ।

    एकातर्फ दाईलाई गोली लागेको, भागदौड गर्दा आफ्नो हात भाँचिएको र अर्को तर्फ घरमा छोरो जन्मन लागेको त्रिपक्षीय सम्बेदनशील घडीमा पनि उहाँ लोकतन्त्रका लागि सम्पर्कबिहिन हुनु परेको थियो । उहाँ भागेपछि उहाँकी बहिनी सकुन्तलालाई प्रहरीले जेल हालेको थियो । यसरी दर्जनौ पटक मृत्युको नजिक पुगेर नाफाको आयुमा बाँचीरहेका घिमिरेले अहिले भने क्यान्सरबाट पराजित हुनुभयो ।

    विक्रम सम्बत २०२५ सालमा जन्मनु भएका घिमिरे क्यान्सरबाट पिडीत भएपछि भारतको एक अस्पतालमा उपचार गराउदै आउनु भएको थियो । तर उपचार गराएर केही हप्ता अगाडि काठमाडौ फर्किनु भएका घिमिरेलाई केही दिन अगाडि फेरी स्वास्थ्यमा समस्या आएपछि काठमाडौस्थीत मेडिसिटी अस्पतालमा लगिएको थियो ।

    अन्त्यष्टि अघि आर्यघाटमै शोक सभाको आयोजना गरिएको छ ।

    श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ, गृहमन्त्री बालकृष्ण खाँण, केन्द्रिय नेताहरु रामचन्द्र पौडेल, चन्द्र भन्डारी, प्रकाशरण महत, रामहरि खतिवाडा, प्रकाशमान सिंह, भिमसेनदास प्रधान, साबिक क्षेत्र नं. ३ पाल्पाका सांसद हरि प्रसाद नेपाल, स्याङ्जा जिल्ला सभापति राजु थापा , वालिङ नगरपालिका निवर्तमान मेयर दिलिप प्रताप खाड लगायत अन्य केन्द्रिय नेताहरु साथै नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति लगायत कार्य समितीका पदाधिकारी एवम सदस्यहरु, नेपाली कांग्रेस रामपुर नगर सभापति लगायत कार्य समितीका पदाधिकारी एवम सदस्यहरु क्षेत्र नं. १ का सांसद दल बहादुर राना लगायत अन्य जिल्लाका नेताहरु साथै सम्पूर्ण रामपुर कांग्रेसजनहरुको बाक्लो उपस्थितका साथ बैकुण्ठ बासको कामना गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

    उहाँको निधनप्रति सबैले दुःख व्यक्त गरेका छन् । उहाँलाई छोरा जयनेपाल घिमिरेले दागबत्ति दिनुभएको थियो । उहाँको आमा, श्रीमती, छोरा र छोरी हुनुहुन्छ ।

     

     


    शुक्रवार, भाद्र ३१ २०७९०७:५६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij