काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहनुभएका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गर्नुभएको हो ।
भरतपुर महानगरपालिका वडा नं. १३ घर भएका परियारले एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा चितवन जिल्लाको अध्यक्ष भएर काम गर्नुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचन चितवन– १ बाट उम्मेदवार बनेर परियार एमाले नेता लालमणि चौधरीसँग पराजित हुनुभएको थियो ।
झण्डै १२ वर्षभन्दा बढी जिल्ला अध्यक्ष भएर काम गरिसकेका परियारलाई माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नं.३ (ख) बाट प्रदेश सांसदका लागि सिफारिस गरेको छ ।
माओवादी केन्द्र राजनीतिक वैचारिक र सांगठनिक हिसावले च्यूत बन्दै गएकाले परित्याग गरेको उहाँले बताउनुभयो ।
परियारसँगै माओवादीको भरतपुर महानगरपालिका सहइञ्चार्ज अञ्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगर कमिटी उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं. १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं. १५ का वडाध्यक्ष आकाश थापा, माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीसहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।