काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफल आज पनि ठोस सहमतिमा पुग्न सकेन । आज बसेको गठबन्धनको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरेपनि सिट बाँडफाँटमा कुरा नमिलेपछि बैठक भोली सोमबारका लागि सारिएको छ । लामो समयदेखि सिटको भागबण्डा पेचिलो बनेको छ । मौकामा फाइदा लिइहाल्ने दाउमा रहेका केही दलका कारण सिटमा सहमति बन्न सकेको छैन । स्थानीय चुनाव र यो अगाडिको संघको निर्वाचनको हैसियतका आधारमा सहमति खोजिने प्रयास भइरहेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताउनुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तल्लो तहका नेताहरुसँग छलफल गरेरमात्रै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । हैसियतभन्दा बढी सिट दाबी गर्दा आफै पराजित हुनुपर्ने स्थिति आउनेमा उहाँले सचेत पार्नुभयो ।
कांग्रेसभित्र सबैलाई मिलाएर लैजान समस्या भएको बताउँदै डा. महतले परीणामलाई हेरेर मात्रै निर्णय लिनुपर्ने बताउनुभयो । एक्लाएक्लै लड्दा सिटमा समस्या नआउने भएपनि गठबन्धनले आन्तरिक मतभेदलाई थप मलजल गरेको महतको भनाइ छ ।
यता, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास भएको बताउनुभएको छ । आजको बैठकपछि नेता खनालले कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास भएको प्रतिकृया दिनुभयो ।
नेकपा एकीकृत समाजवादीले एमालेले जितेको अधिकांश ठाउँमा दाबी गरेको छ । नेपाली कांग्रेसले १०० सिटभन्दा तल नझर्ने दाबी छाडेको छैन तर छलफलमा भने उसले केही तलमाथि हुनसक्ने भन्दै आएको छ । यस अनुसार कांग्रेसले ८०, माओवादी केन्द्रले ४०, नेकपा एकीकृत समाजवादी र जसपाले २२–२२ र राष्ट्रिय जनमोर्चाले एक सिटमा सहमति जनाउन सक्ने देखिएको छ ।