काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुने बताउनुभएको छ ।
आज ६९ औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ, तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन ।’
उहाँले शंकरदेव क्याम्पसलाई समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
क्याम्पसमा अध्ययनअध्यापनकै लागि ठाउँ अभाव भएको विषयमा मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘समाज कल्याण परिषद्को जग्गा छ भन्ने सुनेको छु, मन्त्रिपरिषद्मा छलफल गरेर त्यो जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु चाहन्छु ।’
कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।