काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, सांसद एवम् समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा शोक सभा आयोजना गरेको छ ।
उहाँको स्वर्गारोहणको तेह्रौँ दिनको अवसरमा कांग्रेसले बिहीबार(भोलि) दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा शोक सभा गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले सांसद गिरीको १३औँ दिनको तिथिको अवसरमा भोलि शोक सभा आयोजना गरिएको जानकारी दिनुभयो ।
सभामा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरू सहभागी हुने कार्यक्रम छ । घाँटीको क्यान्सरबाट पीडित नेता गिरिको मेडिसिटी अस्पतालमा उपचारको क्रममा साउन ४ गते राति निधन भएको थियो । ५ साउनमा पशुपति आर्यघाटमा राजकीय सम्मानसहित उहाँको अन्तिम संस्कार गरिएको थियो ।
सिरहाको बस्तीपुरमा २००४ सालमा बुबा मित्रलाल गिरि र पुण्यप्रभा गिरिको कोखबाट जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।
अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।