काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज नारीहरूले निराहार व्रत बसेर मनाउँदै छन् । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । तीज यहीँ बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो ।
नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।
गायिका राधिका हमालले तीजको गीत मार्फत बेलैमा पढ्नुपर्ने नत्र उमेर पुगेपछि दुःख पाइने भावना व्यक्त गर्नुभयो । तीजको गीत मार्फत नारीले आफूले भोगेका र समाजमा घटेका घटनाको उजागर गर्ने गर्दछन् । तीजमा केही भड्किलो संस्कृति पनि भित्रिएको छ । गायिका हमाल भने परिवर्तित समाजमा आएको नयाँपनलाई स्विकार्नुपर्ने बताउनुहुन्छ ।
धार्मिक कथनअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेको र उनको व्रत पूर्णभै महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।
पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेपनि १०८ औं जन्ममा मात्रै उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । तीज नेपाली नारीहरूको महानपर्व हो, सुयोग्य वर र बधू पाउन यो व्रत बस्ने गरेको संस्कृतिविद् डा. माधव भट्टराईको भनाइ छ ।
तीजमा गाइने पुराना गीतहरूले आफ्नै मौलिकता पनि झल्काउने गरेको छ । यो व्रतले ऊर्जा प्रदान गर्ने, खुसी राख्ने गायिका तथा नेतृ कोमल ओलीको अनुभव छ । स्वास्थ्य स्फूर्तिको लागि भएपनि व्रत बस्न आवश्यक छ ।
तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ ।
विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । त्यसैले पनि तीजको महत्त्व धेरै रहेको छ । पछिल्लो समय भित्रिएका गलत अभ्यासलाई निरुत्साहित पार्नु अहिलेको आवश्यकता पनि हो ।