Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

तीजको रौनक : किन बस्ने व्रत, के छ महत्त्व ? (खास खबर)

तीजको रौनक : किन बस्ने व्रत, के छ महत्त्व ? (खास खबर)

  • मंगलवार, भाद्र १४ २०७९

  • 769
    SHARES

  • तीजको रौनक : किन बस्ने व्रत, के छ महत्त्व ? (खास खबर)
    काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज नारीहरूले निराहार व्रत बसेर मनाउँदै छन् । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । तीज यहीँ बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो ।
     
    नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।
     
    गायिका राधिका हमालले तीजको गीत मार्फत बेलैमा पढ्नुपर्ने नत्र उमेर पुगेपछि दुःख पाइने भावना व्यक्त गर्नुभयो । तीजको गीत मार्फत नारीले आफूले भोगेका र समाजमा घटेका घटनाको उजागर गर्ने गर्दछन् । तीजमा केही भड्किलो संस्कृति पनि भित्रिएको छ । गायिका हमाल भने परिवर्तित समाजमा आएको नयाँपनलाई स्विकार्नुपर्ने बताउनुहुन्छ । 
     
    धार्मिक कथनअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेको र उनको व्रत पूर्णभै महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । 
     
    पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेपनि १०८ औं जन्ममा मात्रै उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । तीज नेपाली नारीहरूको महानपर्व हो, सुयोग्य वर र बधू पाउन यो व्रत बस्ने गरेको संस्कृतिविद् डा. माधव भट्टराईको भनाइ छ । 
     
    तीजमा गाइने पुराना गीतहरूले आफ्नै मौलिकता पनि झल्काउने गरेको छ । यो व्रतले ऊर्जा प्रदान गर्ने, खुसी राख्ने गायिका तथा नेतृ कोमल ओलीको अनुभव छ । स्वास्थ्य स्फूर्तिको लागि भएपनि व्रत बस्न आवश्यक छ । 
     
    तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । 
     
    विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ । त्यसैले पनि तीजको महत्त्व धेरै रहेको छ । पछिल्लो समय भित्रिएका गलत अभ्यासलाई निरुत्साहित पार्नु अहिलेको आवश्यकता पनि हो । 
     
     
     
     
     


    मंगलवार, भाद्र १४ २०७९०७:५६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij