काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रका निर्माण सामग्री हटाउन निर्देशन दिनुभएको छ ।
आज हनुमानढोका दरबार क्षेत्रको अनुगमन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
त्यस क्षेत्रमा यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेको भन्दै छरपस्ट सामग्रीहरु हटाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
उहाँले नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रालगायत महत्वपुर्ण जात्राहरु व्यवस्थापनमा समेत चुनौती सिर्जना भएको बताउनुभयो । यस क्षेत्रलाई व्यवस्थित गर्न र संरक्षणमा स्थानीय संघ संस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गरी काम गर्नपर्ने आवश्यकता पनि मन्त्री श्रेष्टले औंल्याउनुभयो ।
उहाँले सबैले हातेमालो गरी जात्रा सफल बनाउन, सांस्कृतिक धरोहर जोगाउन र देशकै प्रमुख पर्यटकीय केन्द्रलाई व्यवस्थित र सुन्दर बनाउन पनि आग्रह गर्नुभएको छ ।