Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अल्फा हाउसमा बालेनको डोजर आक्रमण : आशंका र प्रश्नको घेरामा

अल्फा हाउसमा बालेनको डोजर आक्रमण : आशंका र प्रश्नको घेरामा

  • आइतवार, भाद्र १२ २०७९

  • 1.9K
    SHARES

  • अल्फा हाउसमा बालेनको डोजर आक्रमण : आशंका र प्रश्नको घेरामा

    रघु दाहाल

    काठमाडौंमा अहिले मेयर बालेन साहले घर भत्काउँदै हिडेको विषयले राष्ट्रिय चर्चा पाएको छ । उहाँले नक्शा अनुसार पार्किङ नगराएको भन्दै केही भवनहरुमा आफै उपस्थित भएर डोजर लगाउनु भएको छ । यसलाई सतही रुपमा हेरेर धेरैले प्रशंसा गरेको पाइएको छ । कानुन हातमा लिएर गरिने यस्ता प्रवृत्तिलाई प्रोत्साहन गरियो भने पछि गलत बाटो तर्फ जाने खतरा रहेको बारेमा पनि ध्यान दिनु जरुरी छ । केही गलत कार्यको अन्त्य गर्ने नाममा अर्को गलत प्रवृत्तिलाई प्रोत्साहन गर्नुहुदैन भन्ने तर्फ बेलैमा ध्यान दिन सकिएन भने पछि पछुताउनु पर्ने दिन आउन सक्छ । यसले नयाँ बहस सृजना गरेको छ । केही प्रश्न र आशंकाहरु पनि जन्माएको छ ।

    पहिलो कुरा उहाँले महानगरको नियम पालना नगरेका धेरै छन् । ती मध्ये नियम पालना नगरेर धेरै असर गरेका, दुरुपयोग भएका वा क्षती गरेकाहरुलाई छनौट गर्नुपर्ने थियो । सुरुमा अल्फाविटा हाउस छनौट हुनुमा यीनीहरु कुनै पनि कारण होइनन् । काठमाडौमा पार्किङ स्पेसलाई अन्य काममा प्रयोग गरेका अरु हजारौँ छन् । उनीहरुले आफ्नो काममा आएकाहरुलाई सार्वजनिक ठाउँ प्रयोग गराएर सडक व्यवस्थापनमा समस्या नै हुनेगरी दुरुपयोग गरेका छन् ।

    जबकी अल्फा हाउसले आफ्नो अगाडिको पार्किङ्लाई व्यवस्थीत गरेको थियो भने सँगैको नीजि जमिनलाई भाडामा लिएर आफ्नो पार्किङको लागि प्रयोग गरेको थियो । उसले आफ्नो पार्किङका लागि सार्वजनिक जमिन खपत गरेको थिएन । तर आफ्नो पार्किङका लागि सार्वजनिक जमिन खपत गर्नेहरु धेरै छन् । कारबाहीको पहिलो निसानामा उनीहरु पर्नुपर्ने हो, तर किन उनीहरु नपरेर अल्फा हाउस पर्यो ? शंका गर्ने पर्याप्त आधार देखिन्छ ।

    अर्को कुरा, कुनै पनि व्यक्तिले आफ्नो सम्पत्तिलाई आफू अनुकुल प्रयोग गर्न पाउनु लोकतान्त्रीक शासन व्यवस्थाको आधारभूत अधिकार हो । त्यसमा सरकारी पक्षका केही सर्तहरु हुन सक्छन । तर त्यसको कार्यान्वयन गराउन सरकारी पक्षको पनि प्रक्रिया र शैली हुन्छ । मनलाग्दी र सनकका भरमा गर्न पाइदैन । मेयर बालेनले केही दिन अगाडि काठमाडौंको अल्फा हाउस भत्काउनु भयो । त्यहाँ सुरुमा नक्शा नलिइ भत्काउन जानु भयो, घरधनीले प्रतिवाद गरेपछि उहाँ फेरि नक्शा लिएर जानुभयो । उहाँले नक्शा तपाईसँग हुनुपर्ने भन्दै घरधनीलाई धम्क्याउनु भयो । त्यो उहाँले गर्न मिल्दैन ।

    म २० वर्षदेखि बेलायतमा छु । कार्यप्रणाली कस्तो हुन्छ भन्ने राम्रोसँग अनुभव गरेको छु । तर नेपालको कार्य शैली र प्रक्रिया देख्दा आफैलाई लाज लाग्छ । अनि यस्ता प्रवृत्तिको अन्ध प्रशंसा गर्नेहरुको लहर देख्दा चाहिं चिन्ता लाग्छ । देश अझै बन्न धेरै समय लाग्छ । देशले सही बाटो लिन जनता र उनका प्रतिनिधिहरुको सोचाई र व्यवहार जिम्मेवारपूर्ण र परिपक्वतापूर्ण हुनुपर्छ । तर नेपालमा सस्तो लोकप्रियताका लागि जे गरिदिएपनि हुने देखिएको छ । प्रक्रिया मिचेर सानो लोकप्रिय काम गर्दा त्यसले गलत गन्तव्यमा लैजाने कुरामा ख्याल नगरेको देख्न चिन्ता लाग्ने गरेको हो ।

    हो, अल्फा हाउसले गलत गरेको नै छैन भन्ने मेरो जिकिर होईन । आम प्रवृत्ति अनुसार उसले पनि अरुले कार्यान्वयन नगरेको देखेर केही सर्तहरु कार्यान्वन गरेन होला । तर त्यो कार्यान्वयन नगर्नेलाई कारबाही पुर्व सफाइको मौका दिने, सचेत गराउने, एक दुई पटक कुराकानी गर्ने र पुर्व जानकारी दिएर कारवाही गराउने हुनुपर्छ जस्तो मलाई लाग्छ । उहाँको शैली त सर्तहरुको पालना गराउने र अरुलाई पनि पालना गर्ने वातावरण बनाउने भन्दा पनि पालना नगरेकाहरुलाई कारबाहीका नाममा लोकप्रिय बन्ने नियत प्रष्ट हुन्छ ।

    कुनै पनि राज्यको निकायले दण्डमुलक भन्दा सचेतनामुलक प्रक्रिया र शैली अपनाउनु पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता हो । तर यहाँ नागरिकहरु सचेत गराउने भन्दा पनि नागरिकलाई दण्ड दिने उद्धेश्य राखेको देखिएको छ । यस्तो मानसिकताबाट गरिएको कार्यले नतिजा राम्रो दिदैन । प्रतिशोध बढाउछ र विवाद चर्काउँछ । व्यवसायीलाई पलायन र निराशाको बाटोमा लैजान्छ ।

    अल्फा हाउसका घरधनी जस्तै हजारौँ युवा उद्यमीहरुलाई देशमा केही गरौँ भन्ने भावना मरेर विदेश तिरै रमाउँ भन्ने भावना पलायो भने के होला ? सस्तो लोकप्रियताका लागि भन्दा पनि दीर्घकालीन असरका बारेमा बालेनजीले बेलैमा सोच्ने की ?


    आइतवार, भाद्र १२ २०७९०१:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij