काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार(भोलि) बस्दै छ । सभाको बाह्रौँ अधिवेशनको ४८ औँ बैठक दिउँसो १ बजे बस्नेछ ।
भोलिको बैठकको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची पनि रहेको छ ।
बैठकमा राष्ट्रिय सभाका सचिव फुयाँलले प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बीमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधि सभाले संशोधन सहित फिर्ता पठाएको सन्देश सभा समक्ष टेबुल गर्नुहुने छ ।
त्यस्तै फुयाँलले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका विभिन्न विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनुहुने छ ।
त्यसै गरी राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने कार्यसूची रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय सभाका सचिव फुयाँलले जानकारी दिनुभएको छ ।