काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० गतेदेखि सुरु गर्ने भएको छ । शनिबार(आज) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले पहिलो चरणको अभियान भदौ १० गतेदेखि २४ गतेसम्म १५ दिन सञ्चालन हुने जानकारी दिनुभयो । साथै उहाँले आगामी चुनावका लागि तीन चरणको अभियान सञ्चालन गर्ने बताउनुभयो ।
पहिलो चरणको भदौ १० गतेदेखि २४ गतेसम्म, दोस्रो चरणको समानुपातिक उम्मेदवारी दर्तापछि र निर्णायक तथा अन्तिम चरणको अभियान प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सञ्चालन हुने प्रवक्ता महतले जानकारी दिनुभयो ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई मतदानको अभिकार प्रयोग गर्न मतदातालाई अभियानका क्रममा अपिल गरिनेछ । यस्तै, जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनताले सुनाउन चाहेको गुनासो सुन्ने, जनताको भावना अनुसार रूपान्तरण र विकास परियोजनाबारे जनतासँग छलफल गर्ने कार्यक्रम रहेको महतले बताउनुभयो ।
यस्तै पहिलो चरणकै अभियान अन्तर्गत कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने कार्यक्रम रहेको छ । साथै निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय, पार्टी र जनतासामु प्रकाश पारिने प्रवक्ता महतले बताउनुभयो ।
अभियानका क्रममा जिल्ला, क्षेत्र तथा स्थानीय तहमा प्रतिनिधिहरू खटाइनेछ । जसमा ७७ वटै जिल्लाका नेता कार्यकर्ताका साथै क्षेत्रीय र केन्द्रीय स्तरका नेताहरू रहनेछन् । उनीहरूको भूमिका र जिम्मेवारीबारे आन्तरिक सर्कुलर गरिसकेको नेता महतले जानकारी दिनुभयो ।