काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाउँदैमा आक्रोश व्यक्त गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।
सोमबार ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले कुनै पनि विधेयकलाई संसदमा पुनर्विचारका लागि पठाउने अधिकार राष्ट्रपतिसँग रहेको र संविधानले दिएको अधिकार नै राष्ट्रपतिले प्रयोग गरेको स्पष्ट पार्नुभएको छ। ‘प्रथम दृष्टिमा उनले विधेयकलाई संसदमा फिर्ता पठाउने कुराको प्रक्रियामा नै प्रश्न उठाउनुपर्छ जस्तो मलाई लाग्दैन,’ थापाले भन्नुभयो ।
उहाँले राष्ट्रपतिले पठाएको सूचना र टिप्पणीलाई पार्टीभित्र छलफल गर्न बाँकी रहेको बताउनुभयो। थापाले भन्नुभयो, ‘हामीले एउटा उद्देश्यले संसदबाट पास गरेर प्रमाणीकरणका लागि पठाएका थियौँ । यसबारे हामी स्पष्ट छौँ । तर राष्ट्रपतिले फिर्ता गरेपछि यसबारे धारणा बनाउँछौँ । संसदमा कसरी प्रस्तुत हुने कुरा त्यसपछि तय गर्छौँ ।’