काठमाडौं । रौतहटमा हिरासतमा राखिएका विजयराम चमारको मृत्युको घटनाको राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
उनलाई प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश नं. –२ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले चमारको स्वास्थ्य परीक्षण प्रतिवेदन र पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपि शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरिसकेको छ ।
चमार रौतहटको गरुडा नगरपालिका– ८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका थिए । हिरासतभित्रै बिरामी परेका उनको उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
यसैबीच, पीडित परिवारलाई तत्कालै उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।