काठमाडौँ । सिट बाँडफाँटको जिम्मेवारीसहित गठन भएको सत्तारूढ गठबन्धन दलको कार्यदलको बैठक जारी छ ।
बैठकले केही दिनभित्रमा आफ्नो काम सम्पन्न गर्ने गरी छलफल गरेको सरकारका प्रवक्ता सूचना, प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
साउन २३ गते बसेको पहिलो बैठकमा सबै प्रतिनिधिले आ(आफ्नो दलको तर्फबाट ठोस कार्ययोजनासहित आजको बैठकमा छलफल गर्ने बताइएको थियो । यो कार्यदलले सिट बाँडफाँटको लागि विस्तृत छलफल गरेर आफ्नो प्रतिवेदन शीर्ष बैठकमा पेस गर्नेछ ।
कार्यदलका सदस्यसमेत रहेका उहाँले चाँडोभन्दा चाँडो कार्यदलले पाएको जिम्मेवारी पूरा गर्ने निर्णय गरेको बताउनुभयो ।
‘चाँडोभन्दा चाँडो कार्यदलले पाएको जुन जिम्मेवारी छ त्यसलाई पूरा गर्ने ढंगले सकारात्मक छलफल भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो,‘कार्यदलमा विभिन्न मोडालिटीमा खुलस्त छलफल भएको छ । केही दिनभित्रमा आफ्नो काम सम्पन्न गर्ने दिशामा अगाडि बढेको छ ।’