काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरमा कन्टेनरभित्र अन्दाजी ४५-५० वर्षीय पुरुषको शव फेला परेको हो ।
चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताउनुभयो ।
चालकसँगको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
त्यस्तै मोरङको बेलबारी नगरपालिका-३ स्थित न्यू पाथीभरा बरफ फ्याक्ट्रीमा अन्दाजी २७–२८ वर्षीय युवक मृत फेला परेका छन् । खाना खाएर फ्याक्ट्रीका अन्य कामदारसँगै राति सुतेका विशाल राई ओछ्यानमै मृत भेटिएको प्रहरीले बताएको छ ।
शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।