Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन

बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन

  • सोमवार, श्रावण २३ २०७९

  • 1.2K
    SHARES

  • बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन
    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताउनुभयो ।
     
    बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरूले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिनुभयो । 
     
    ५ कर्मचारी सङ्गठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताउनुभयो । 
     
    पोखरेलसहित निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी सङ्गठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेका थिए ।
     
    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष रावलले पनि मन्त्री शर्माले अहिले १५ प्रतिशत तलब वृद्धि लागू गर्ने बताएको जानकारी दिनुभयो । साथै मन्त्री शर्माले निजामती सेवाभित्र र बाहिर नमिलेको मर्यादाक्रम लगायतका विषयहरू पनि मिलाउने बताएको रावलको भनाइ छ ।
     
    अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो ।
     
    तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरूको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक डकुमेन्ट सार्वजनिक भएको छ । अर्थ मन्त्रालयको छापसहितको सो विवरण अनुसार शाखा अधिकृतहरूले यही साउन महिनादेखि २४ प्रतिशत, उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउने छन् । यसको आधिकारिकता भने पुष्टि भइसकेको छैन ।
     
    तर चालकको भन्दा आफूहरूको तलबमान कम भएको भन्दै नासुहरू यसमा असन्तुष्ट छन् । असमान ढंगले तलब वृद्धि गरिँदा आफूहरू मर्कामा परेको भन्दै नासुहरूले आज सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका छन् । असमान तलवृद्धिको विरोधमा भोलि (मंगलबार) बिदा बस्ने घोषणा समेत उनीहरूले गरेका छन् ।
     


    सोमवार, श्रावण २३ २०७९०२:१८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij