काठमाडौं । बर्दियाको गुलरियामा रहेको नेपाल बैङ्कको शाखाका प्रबन्धक (म्यानेजर) धबेन्द्र न्यौपानेमाथि रकम हिनामिना गरेको आरोप लागेको छ।
उनीमाथि बैङ्कको रकम हिनामिना गरी सम्पर्कविहीन भएको आरोप लागेको हो।
गत बुधबारदेखि उनी सम्पर्कविहीन भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले बैंकमा भएको रकम हिनामिना गरेको थाहा पाएपछि केन्द्रीय कार्यालय काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोली समेत पठाएको छ।
अहिले टोलीले अनुसन्धान गरिरहेको छ। टोली केही दिनमा अनुसन्धान सकेर काठमाडौं फर्किने प्रवक्ता अधिकारीले बताउनुभयो ।
न्यौपानेले कति रकम हिनामिना गरेका थिए भन्ने खुलेको छैन। अनुसन्धानको लागि खटिएको टोली फर्किएपछिमात्रै भन्न सकिने अधिकारीले बताउनुभयो ।
न्यौपानेलाई गत चैत २४ गतेमा शाखा म्यानेजरको रूपमा पठाएको थियो। यसअघि उनी सुर्खेतको वीरेन्द्रनगरको शाखामा हुनुहुन्थ्यो। उहाँले नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेको उहाँले बताउनुभयो ।
उहाँको पढाइमा पनि राम्रै भएको हुँदा म्यानेजरमा प्रमोसन गरी गुलरिया पठाइएको थियो। तर पछि उनले रकम नै हिनामिना गरेको पाएको हो।
न्यौपानेले गुलेरिया पुगेरमात्रै हिनामिना गरेका भने होइन। उहाँले वीरेन्द्रनगरमै हुँदा हिनामिना गरेको खुलेपछि गुलेरियामा पनि अनुसन्धान थालेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
काठमाडौंबाट अनुसन्धान गर्ने टोली जानुअघि नै सम्पर्क गर्दा उनी सम्पर्कविहीन भइसकेका थिए। उनलाई हेडक्वार्टरबाटै फोन गरेको तर कहाँ छन् भन्ने पत्ता नलागेको उनले बताए।
बैंकले न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा पनि जाहेरी दिएको छ।
जाहेरीअनुसार न्यौपानेको खोजी गरिरहेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो।
बैंकले बर्दियासँगै बाँके, कञ्चनपुर, कैलाली र सुर्खेत प्रहरीलाई समेत खोजी गरिदिनू भन्दै पत्राचार गरेको छ।
सम्पर्कविहीन भएका न्यौपानेको खोजी गरिदिन भन्दै बैंकले मात्रै नभई परिवार समेतले कार्यालयमा जाहेरी दिएको छ।
उनको परिवार जाहेरी लिएर साउन १४ गते नै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। तर सो जाहेरी साउन १८ गतेमात्रै दर्ता भएको थियो।
उनले हिनामिना गरेको थाहा पाउनेबित्तिकै हेडक्वार्टरले नयाँ म्यानेजरलाई पठाएको बैंकका प्रवक्ता अधिकारीले बताउनुभयो।