काठमाडौं । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएपछि यी दुई देशबीच आगामी दिनमा दूरी बढ्दै जाने र अशान्ति पैदा हुने आकंलन हुन थालेको छ । चीनसँग सीमा जोडिएको नेपालले दुई देशबीच कसरी समानान्तर सम्बन्ध कायम गर्ने चुनौति बढ्दै गएको छ ।
नेपालमा अमेरिकाको पछिल्लो प्रभाव र चीनसँगको चिसिएको सम्बन्धले थप खतरा बढाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आजै ताइवानको मामलामा नेपाल आफ्नो पक्षमा रहनुपर्ने तर्क गरेकी छन् । जारी रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा हस्ताक्षर गरेको नेपालले अहिले भोगिरहेको परिणति, अमेरिका र चीनसँग बराबर सम्बन्ध कायम गर्न नसक्दा निकै महंगो पर्ने पक्का छ ।
असंलग्न परराष्ट्र नीति रहेको नेपालमा पछिल्लो समय बढिरहेको विदेशी हस्तक्षेपले यहाँको राष्ट्रियतालाई समेत कमजोर पारिरहेको छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केशीले अहिलेको नेतृत्वले मुलुकलाई कमजोर पारेको बताउँदै आगामी दिनमा आउने नियती भोग्नुबाहेकको विकल्प नरहेको तर्क गर्नुभयो ।
ताइवान मामलामा चीन आक्रामक बन्दै गइरहेका बेला अमेरिकाले ताइवानलाई साथ दिदै आएको छ । भविष्यमा ताइवानमाथि हमला भएमा अमेरिकाले प्रतिकारका लागि साथ दिने सन्देश प्रवाह गर्दै आएको छ । रुसले युक्रेनमाथि हमला गरेजस्तै चीनले गरेमा अमेरिकालगायत पश्चिमा देशहरुले भूमिका देखाउन सक्छन् ।
चीनसँग लड्न ताइवानलाई अमेरिकाले साथ दिनसक्छ । ताइवानलाई अमेरिकाले बेला बेलामा हतियार बेच्दै आएको छ । पछिल्लो घटनाक्रमले अमेरिकाले ताइवान मामलामा चीनलाई चुनौती दिएको छ । अन्तर्राष्ट्रिय कानूनका जानकार एवम् पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले चीनलाई कम आँक्ने नेपालका नेताहरुको प्रवृत्तिले थप सम्बन्ध चिसिँदै गएको बताउनुभयो । अहिलेको अवस्थामा सीमा जोडिएको मुलुक चीनलाई नेपालले समर्थन गर्नुको विकल्प नभएको संग्रौलाको भनाइ छ ।
राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको सम्बन्ध अमेरिका र चीनसँग बराबर हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । पहिल्लो समय कुनै अमुख राष्ट्रप्रति ढल्किँदै गएको सरकार बेलैमा सचिनुपर्ने उहाँको तर्क छ।
चीनले अमेरिकालाई आगोसँग नखेल्न चेतावनी दिएबाट ताइवान टापुमा युद्धको कालो बादल मडारिएको छ । उक्त क्षेत्रमा अमेरिका र चीनबीच युद्धको खतरा बढेको हो । यसैबीचमा नेपालले चीनसँग आफ्नो सद्भाव कायम राख्नुपर्ने विश्लेषकहरुको भनाइ छ।