काठमाडौँ । अमेरिकाको बाल्टिमोर काउण्टिको डिष्ट्रिक ‘७ए’ बाट डेमोक्रयाटिक पार्टीको केन्द्रिय सदस्यमा पाल्पाका सतीश चापागाई निर्वाचित हुनु भएको छ ।
उहाँले ४ हजार ३ सय ४४ मत प्राप्त गरेर सत्तारुढ दलको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । नेपालमा रहँदा सक्रिय पुर्णकालीन पत्रकारिता गर्नु भएका चापागाईले अमेरिकामा पनि पत्रकारिता र सामाजिक सेवा गर्दै आउनु भएको छ ।
आफू विजयी भएपछि उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “मैले मेरो पत्रकारिता र सामाजिक कर्मका क्रममा पटक पटक भन्दै आएको छु की ‘हामी पलायन होईन बिस्तार भएका हौं ।’ अमेरिकी राजनीतिको मूल प्रवाहमा भएको मेरो यो विजय पनि त्यहि श्रृंखलाको अर्को एउटा कदम मात्र हो ।” उहाँले दर्शन रौनियारबाट शुरु भएको अमेरिकी राजनीतिको मुल प्रवाहमा प्रवेशको यात्रा किरण सिटौला, ह्यारी भण्डारी, प्रदीप ढकाल, टीका पौडेल, भुवन प्याकुरेल, रामचन्द्र श्रेष्ठ र सराहना श्रेष्ठसम्म सफलतापूर्वक आएको स्मरण गर्नु भएको छ ।
अमेरिकाको मूलधारको राजनीतिमा प्रतिस्पर्धामा उत्रेर पहिचान बनाउन सफल नवराज केसी, मोहन ज्ञवाली र दिनेश शर्मा, काशी अधिकारी, अर्जुन हमाल, ईन्द्र बहादुर थापा र अमृता रेग्मीलाई पनि बिर्सन नहुने उहाँले उल्लेख गर्नु भएको छ ।
‘पद’ ठुलो कुरा होईन ‘पथ’ महत्वपूर्ण कुरा भएको बताउदै उहाँले अथाह सम्भावनाको भूमीमा नेपाली सबै मिलेर आप्रवासी र सिमान्तकृत वर्गको हीतका लागि राजनीतिको मूल प्रवाहमा अगाडी बढ्न आह्वान पनि गर्नु भएको छ ।उहाँले लेख्नु भएको छ, “यो एउटा लामो यात्रा हो । यसलाई आयतनमा होईन आयाममा नापौं । सबै सहभागी बनौं र समाहित बनौं ।”