Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नापतौलमा उपभोक्ता ठगिने क्रम बढ्दै, वैज्ञानिक मापदण्ड तय गर्न माग (खास खबर)

नापतौलमा उपभोक्ता ठगिने क्रम बढ्दै, वैज्ञानिक मापदण्ड तय गर्न माग (खास खबर)

  • मंगलवार, श्रावण १७ २०७९

  • 575
    SHARES

  • नापतौलमा उपभोक्ता ठगिने क्रम बढ्दै, वैज्ञानिक मापदण्ड तय गर्न माग (खास खबर)

    काठमाडौं । मानिसले प्रयोग गर्ने र उपभोग गर्ने हरेक वस्तुहरूको आआफ्नै मापन हुन्छ । विशेषगरी दैनिक रुपमा आवश्यक पर्ने खाद्यवस्तुहरू, फलफूललगायत पहिरनका लागि प्रयोग हुने विभिन्न धातुका गरगहनालाई मापन गरेर मात्रै प्रयोग गर्ने गरिन्छ । नापजाँच सही भएन भने उपभोक्ता तथा क्रेता ठगिने व्यापारी मोटाउने हुन्छ । त्यसैले मापन पद्धतीलाई चुस्तदुरुस्त राख्नका लागि सरकारले स्ट्याण्डर्ड नापतौल पाँचौ संशोधनमा बहस शुरु गरेको छ ।

    आजको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सांसदहरुले हाम्रो समाजमा प्रयोगमा आएका सबैखाले नापजाँचको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । नापतौललाई वैज्ञानिक तवरले व्यवस्थापन गर्न खोजिएको भन्दै सांसद दिव्यमणि राजभण्डारीले नापतौलमा नुन र सुनमा हुने बदमासीलाई एकै प्रकारको जरिवाना सही नहुने बताउनुभयो । 

    मूल्यको हिसाबले दिइने दण्ड फरक हुनुपर्ने बताउँदै सांसद घनश्याम खतिवडाले बिक्रेताबाट उपभोक्ता धेरै ठगिएको गुनासो गर्नुभयो । 
    सांसद खेमप्रसाद लोहनीले समयानुकुल स्ट्याण्डर्ड नापतौलको आवश्यकता रहेको औँल्याउँदै बेला–बेला हुने बजार अनुगमन पनि व्यवस्थित नरहेको दाबी गर्नुभयो । 

    मुलुकमा हालसम्म चलेका नापजाँचको जानकारी दिँदै सांसद मोहन बाँनियाले सरकारले नापतौललाई व्यवस्थित पार्न कुनै कसर बाँकी राख्न नमिल्ने बताउनुभयो । 

    तौलमा हुने बेइमानीबाट उपभोक्ता मारमा परेको  बताउँदै सांसद नारायण प्रसाद खतिवडाले प्याकेजिङ गरिएका हरेक वस्तुमा तौल तलमाथि हुने गरेको दाबी गर्नुभयो । उपभोक्ता बजारमा जानासाथ ठगिने गरेको उहाँको भनाइ छ ।

    दैनिक उपभोग्य वस्तुहरु जोख्दा व्यापारीले लुकाएर जोख्ने गरेको सांसदहरुको धारणा थियो । सांसद समिना हुसेनले उपभोक्ताले आफूले तिरेको रकमको बराबर सामान नपाएको गुनासो गर्नुभयो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले नापतौलमा वैज्ञानिक पद्धतीहरुको विकास भइसकेको बताउँदै अन्तर्राष्ट्रिय मापदण्डमा नेपाल पनि जानुपर्नेमा जोड दिनुभयो । 

    नापतौलमा व्यापारीले उपभोक्तालाई ठग्ने गरेका घटना दिनानुदिन आइरहन्छन् । सरकारले नापतौललाई व्यवस्थित गर्न वैज्ञानिक प्रणाली प्रयोग गर्नु आजको आवश्यकता हो । 


    मंगलवार, श्रावण १७ २०७९०८:३२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij