काठमाडौं । सर्पदंशका बिरामी एक ३२ वर्षीय युवकको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ ।
सिन्धुली घर भई बर्दिबास-४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् ।
श्रेष्ठ बर्दिबास-४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक रहेका थिए । करिब मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्याएका थिए । गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुर पुर्याइएको थियो ।
झुल (मच्छरदानी) नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो । गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भ्यान्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उनलाई जनकपुर पुर्याइए पनि उपचार हुन भ्याएन । प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन् ।
विगतदेखि बर्दिबास नगरपालिका नेतृत्व र मन्त्रालयसम्म यो सुविधाको माग कैयौँ पटक गरिएपनि कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।
सर्पदंशका बाक्लै घटना हुने बर्दिबास क्षेत्रमा पछिल्लो घटनासहित एक महिनाभित्रै तीन जनाको मृत्यु सघन उपचार नपाएरै भइसकेको छ ।
तीन दिन पहिले एकजना र गत असारको तेस्रो साताको अन्त्यतिर एक गरी दुई जनाको भ्यान्टिलेटरको सघन उपचार नपाएरै मृत्यु भएको थियो ।
यसैबीच बर्दिबासमा नागरिक समाजका प्रतिनिधिले भेन्टिलेटर व्यवस्थापनका लागि नगर नेतृत्व र आफ्ना क्षेत्रका सङ्घीय सांसद (प्रतिनिधिसभा सदस्य) गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन् ।