काठमाडौँ – राजनीतिक नियुक्तिको चरम दुरुपयोग गर्न थालेपछि सरकार चौतर्फी आलोचनाको घेरामा परेको छ।
नातावाद, कृपावाद र कुटुम्बवादभन्दा माथि उठ्न नसक्दा सरकार आफ्नै नियतिले आलोचकहरुको चौतर्फी आक्रमणको भूमरीमा परेको हो।
पछिल्लो पटक उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउने खेल सुरु भएपछि साम्यवादको नारा दिने सरकार सम्धीवादमा रुपान्तरण भएको भन्दै आलोचना चर्केको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले प्रजातान्त्रिक प्रणालीको हत्या गरिरहेको आरोप लगाउनुभयो।
चौतर्फी आलोचना भएपछि उपप्रधानमन्त्री पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई आज वाणिज्य बैंकको सञ्चालक समितिको बैठक बसेर अध्यक्ष बनाउने तयारी तुहिएको छ। आज बस्ने भनिएको उक्त बैठक स्थगित भएको हो।
यसैबीच आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दाबी गरेपछि उपप्रधानमन्त्री पोखरेल थप आलोचनाको शिकार भएका छन्।
नागरिक समाजका अगुवा सुरेन्द्र भण्डारीले पोखरेलका सम्धी कोइरालाले छैठौैँ पटक उच्च तहको सरकारी नियुक्ति हत्याउनु सत्ताको चरम दुरुपयोग रहेको बताउनुभयो।
क्षमतावान व्यक्तिहरु तमामौ हुँदा समेत पोखरेलका सम्धी कोइरालालाई नै छैठौँ पटक उच्च तहको सरकारी नियुक्ति मिलेपछि सत्तारुढ नेकपाभित्र र बाहिरबाट समेत चर्को विरोध भइरहेको छ।
तर पोखरेलले अहिले विगतको निरंकुश शाही शासनका दुष्ट मतियारहरूले आफूविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ।
उहाँले आफूविरुद्ध भइरहेको सबै टिप्पणीहरुलाई घृणापूर्वक अस्वीकार गरेको भन्दै विज्ञप्ति जारी गर्नुभएको छ। तर सत्तारुढ नेकपाकै नेता सोमनाथ पाण्डेले सरकारका केही नियुक्तिहरुमा कमजोरी रहेको बताउनुभयो।
केन्द्रीय कमिटि, स्थायी कमिटिलगायतमा पनि सरकारका यस्तै कामकारबाहीको विषयलाई लिएर प्रश्न उठेको उहाँले बताउनुभयो।
सरकारले स्वेच्छाचारी ढंगले काम गर्ने, पार्टीलाई भन्दा परिवारलाई प्राथमिकता दिने, राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिने, योग्यलाई भन्दा रकम बुझाएर नियुक्ति किन्नेहरुलाई अवसर दिएको भन्दै नेकपाकै नेता कार्यकर्ताहरु निराश छन्।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले कम्युनिष्ट सरकार पैसा कमाउने धाउन्नमा मात्रै लागेको टिप्पणी गर्नुभयो। देशको विकास गर्दा आफ्नो पनि विकास हुन्छ भन्ने मान्यता त्याग गरिसकेका कम्युनिष्ट नेताहरुले नियुक्ति बेचेर पैसा कमाइरहेको उहाँको आरोप छ।
हुन त विपक्षी कांग्रेसका नेताहरुले अहिले सरकारले गरेका विभिन्न नियुक्तिहरुमा आलोचनात्मक टिप्पणी गरिरहेका छन्। तर प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नै राजनीतिक नियुक्तिमा भागबण्डा भएको विषय जगजाहेर छ।
कांग्रेस नेता भण्डारीले नियुक्तिमा भागबण्डा गर्ने जो भएपनि देशको भविष्यका लागि दोषी रहेको टिप्पणी गर्नुभयो।
नेकपाभित्र हजारौँ नेता–कार्यकर्ता सक्षम हुँदाहुँदै पनि सरकारले बिचौलिया, नियुक्ति किन्नेहरु, मन्त्रीका आफन्त तथा नेताका पारिवारिक सदस्यलाई सरकारले विभिन्न नियुक्ति दिइरहेको छ ।