काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षणको समय तालिकामा केही हेरफेर गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणका जाने भएकाले आज बिहान बसेको स्थायी समिति बैठकले तालिकामा केही परिवर्तन गर्ने निर्णय गरेको स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिनुभयो ।
यसअघि २५ असारमा बसेको स्थायी समिति बैठकले साउन १६ देखि प्रदेशस्तरीय प्रशिक्षण थाल्ने निर्णय गरेको थियो । पोखरेलका अनुसार १६ र १८ गतेको प्रशिक्षण यथावत् राखी २५ गतेसम्मको परिमार्जन गरिएको हो । प्रचण्डले साउन २१ देखि २५ सम्म जापान भ्रमण गर्नुहुने छ ।
१६ गते बागमती प्रदेश र १८ गते प्रदेश १ को प्रशिक्षण हुने छ । तालिका परिवर्तन गरिएकोमा लुम्बिनी प्रदेशको २९ गते, मधेश प्रदेशको २ गते, सुदूरपश्चिमको र विशेष प्रदेशको ४ गते, प्रवास प्रदेशको ६ गते र सम्पर्क समन्वय प्रदेशको ८ गते हुने भएको छ ।
पोलिटब्युरो सदस्यहरूको नाम टुंग्याउने र स्थायी समितिलाई पूर्णता दिने लगायतका एजेन्डामा भने आज छलफल नसकिएको र १५ गते बस्ने स्थायी समितिको बैठकबाट निर्णय हुने पोखरेलले बताउनुभयो ।