Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सीसीटीभी प्रकरण : संसदीय विशेष समितिको बैठक आज पनि बस्दै

सीसीटीभी प्रकरण : संसदीय विशेष समितिको बैठक आज पनि बस्दै

  • बुधवार, श्रावण ११ २०७९

  • 567
    SHARES

  • सीसीटीभी प्रकरण : संसदीय विशेष समितिको बैठक आज पनि बस्दै

    काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि बस्दै छ।

    बैठक आज बिहान ११ बजे बस्ने संसदीय छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

    समितिले आजबाट प्रतिबेदन लेख्न थाल्ने तयारी गरेको छ। त्यसअघि बजेट घोषणा भएको अघिल्लो दिन जेठ १४ गते राति सिंहदरबार प्रवेश गरेको शंकास्पद गाडीबारे विस्तृत बुझ्ने तयारी समितिको छ।

    आजको बैठकमा सीसीटीभीको रिकभर फुटेजमा देखिएको शंकास्पद गाडीको विषयमा विस्तृत बुझेर निष्कर्ष निकालिने र त्यसपछि सबै विषयलाई समेटेर प्रतिवेदन लेखनको खाका तयार गरिने छ।

    मंगलबार अपराह्न बसेको समितिको बैठकमा अधिकांश सदस्यहरुले अब प्रतिवेदन लेखनमा केन्द्रित हुनुपर्ने बताएका छन्। विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सीसीटीभीको रिकभर रिपोर्ट लगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ।

    प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको समितिका सचिव अर्यालको भनाइ छ। यद्यपि, सदस्यहरुले आ–आफ्नो राय भने राख्न पाउनेछन्।

    पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

    सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते गठन गरेको ११ सदस्यीय समितिको म्याद दोस्रोपटक ७ दिनका लागि थपिएको छ। समितिको पहिलोपटकको म्याद साउन ५ गते सकिएकोमा पुनः ७ दिनका लागि थप गरिएको थियो। समितिले अब म्याद थप गर्नका लागि आग्रह नगरी दोस्रो पटकका लागि थपिएको समयमै प्रतिवेदन बुझाउने तयारी गरेको छ।

    समितिमा संसद्‌को सबैभन्दा ठूलो तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन्।

    सत्ता गठबन्धनका दल नेपाली कांग्रेसबाट मानवबहादुर विक र सीताराम महतो, माओवादी केन्द्रबाट देव गुरुङ र शक्ति बस्नेत, एकीकृत समाजवादीका सरला यादव र जसपाका सुरेन्द्र यादव सदस्य छन्। यस्तै, लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन्।


    बुधवार, श्रावण ११ २०७९०७:०३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij