काठमाडौं । डिश मिडिया नेटवर्कले आईपि टिभीको सेवा शुभारम्भ गरेको छ । उक्त कम्पनीले इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरूको चाहनालाई मध्य नजर गरेर आईपि टिभीको सेवा शुभारम्भ गरेको जनाएको छ।
डिशहोमले पत्रकार सम्मेलन गर्दै डिशहोम आई टिभीको सुरुवात गरेको जनाएको हो । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जरगरी डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।
नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ ।
पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्कले आफ्नो व्यवसाय लाई विस्तार सँगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट, टिभी र आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।
दुर्गम ठाउँसम्म टेलिभिजनको पहुँच पुर्याएर सञ्चारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडियाले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरू सँगै गुणस्तरीय बिक्री पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।