काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाललाई समाजवाद तर्फ रूपान्तरण गर्ने हो भने समाजवादका पक्षधर शक्तिहरू एक ठाउँमा आउनुपर्ने ऐतिहासिक आवश्यकता रहेको बताउनुभएको छ । उहाँले देशका सबै वामपन्थी शक्तिहरू समाजवादमा जान तर्फ प्रतिबद्ध छन् भने साझा मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने देशको ऐतिहासिक आवश्यकता रहेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमालासँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले अहिले पनि नेपाली जनता गरिबीको रेखामुनि रहेकोले नेपालमा समाजवाद आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवाद ल्याउन सबै कम्युनिष्टहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यस्तै नेता खनालले पहिलो निर्वाचनबाट जसरी वामपन्थी सरकार बन्यो त्यसले १० वर्ष लगाएर बनाएको संविधानमाथि खतरा पैदा गरेको हुनाले संविधान,संसद्, लोकतन्त्र,गणतन्त्र र सिस्टम बँचाउनको लागी अहिलेको गठबन्धन बनेको र यो पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दाबी गर्नुभयो । साथै उहाँले अब गठबन्धन गर्दा सबैको सम्मानजनक ढंगबाट सिटको बाँडफाँट हुनुपर्ने समेत बताउनुभएको छ ।