काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले सबै कम्युनिष्ट धारका राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिनु भएको छ । उहाँले नेपालको सामाजिक परिवर्तनको आन्दोलनमा कम्युनिष्ट विचार बोकेका सबै राजनीतिक दलहरूलाई एकताबद्ध गर्न नसके समाज परिवर्तनको आन्दोलन पुरा गर्न नसकिने दाबी गर्नु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमालासँग कुरा गर्दै नेता पोखरेलले बाम गठबन्धनको नाममा चुनावदेखि चुनावसम्म तत्कालीन सत्ता प्राप्तिको लागी मात्र गठबन्धन गर्न उचित नहुने बताउनुभएको छ । विगतमा नेकपा गठन गरेको स्मरण गर्दै उहाँले नेकपा एमालेसँग गठबन्धन र पछि पार्टी एकता गरेर झण्डै दुई तिहाइमा ओलीको नेतृत्वमा सरकार बनाउँदा सरकार संचालनको दौरानमा ओलीको स्वेच्छाचारिताका कारण आफ्नै पार्टी भित्र संघर्ष गर्नु परेको बताउनुभयो ।
ओलीले गरेको संसद् विगठनको पुन स्थापनाका लागी बनेको वर्तमान गठबन्धन संविधानको रक्षा जनप्रतिनिधि सुनिश्चितताका लागी बनाइएकोले यसको तार्किकता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि पुरा हुने बताउनुभयो । उहाँले कांग्रेससँग आफ्ना थुप्रै विमति भएपनि कांग्रेसले संविधानको रक्षा र जनप्रतिनिधिको रक्षा गर्ने उद्देश्यमा आएकोले गठबन्धन गरेको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनपछि कांग्रेसले दम्भ देखाएको र भर्खरै बसेको बैठकले गरेको निर्णयले गठबन्धनका अरू दललाई टेको मात्र बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले कांग्रेसको यो प्रवृत्तिले स्वयम् कांग्रेसलाइ नै फाइदा नहुने र गठबन्धनलाई पनि फाइदा नहुने बताउनुभयो । उहाँ यदि कांग्रेस यसरी नै जाने हो भने गठबन्धनका कोहिपनि दल कांग्रेसको बैसाखी नबन्ने जिकिर गर्नुभयो ।
उहाँले यसअघि जुन दलले जहाँ जितेका छन् त्यहाँ उसैलाई सिट बाँडफाँट गर्नुपर्ने र एमाले जितेको ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने बताउनुभएको छ ।