काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुल्नुभएको छ ।
मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेख्नुभएको छ । जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दु–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उहाँको प्रस्ताव छ ।
मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन २०७८ मा मार्ग परिर्वतनः ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गर्नुभएको थियो ।
सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न प्रस्ताव गरेका उनले एकताको प्रतीकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताउनुभएको थियो ।
राजतन्त्रको पक्षमा खुलेको भन्दै मिलन पाण्डे समूहले असन्तुष्टि जनाएपछि विवेकशील साझा पार्टी फुट्यो । स्थानीय तह चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि मिश्रले ११ जेठ २०७९ मा अध्यक्षबाट राजीनामा दिनुभएको थियो ।
अहिले मिश्र विचारभन्दा माथि देशको प्रस्तावमा थप खुलेर आएका छन् । ‘विचारभन्दा माथि देश’ दस्ताबेजमा आएको प्रतिक्रिया, भएका छलफल–बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन् ।
गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण दूरगामी हितका लागि घातक भएको उहाँको निष्कर्ष छ ।
अब ढिलो नगरी नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उहाँले बताउनुभएको छ । नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उहाँको निष्कर्ष छ ।