काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको स्वीकार गर्नुभएको छ ।
शुक्रबार तीन दिने भारत भ्रमण सकेर आइतबार नेपाल फर्किनुअघि प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने तय भएको थियो । तर अन्तिम समयमा भेट रोकियो । आइतबार साँझ स्वदेश फर्किएका प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता सकेर होटेलमा जाने क्रममा मोदीसँग हुने भेट स्थगित भएको जानकारी पाएको बताउनुभयो ।
‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ प्रचण्डले अघि भन्नुभयो, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौँ । होटेल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईँहरू जस्तै मलाई पनि थाहा छैन ।’
बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि क्लाइमेक्स त्यही हो भन्ने ठानेको हुनसक्ने प्रचण्डले बताउनुभयो । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘के कारण लास्ट आवरमा भएन, मलाई पनि थाहा छैन । तर मलाई त्यसले केही टेन्सन भएको छैन ।’
उहाँले अघि भन्नुभयो, ‘ किनभने भन्नुपर्ने, गर्ने कुराहरू भारतको नेतृत्व, बीजेपीको नेतृत्वसँग पर्याप्त भएकाले भेट्ने र फोटो खिच्ने त हुन्थ्यो होला, त्यो भन्दा बढी त समय थिएन ।’