काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग पनि सोधपुछ सक्ने तयारी रहेको छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो ।
आइतबार नै अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको उहाँले जानकारी दिनुभयो ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९-०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेपछि राजीनामा दिनुभएको थियो ।