गोपाल रानामगर
मगर समुदायको महत्वपूर्ण पर्वको रुपमा साउने सक्रान्तिलाई लिने गरिन्छ । किसानहरु बर्खायाम भरी खेतीपाती गरी सम्पूर्ण काम सकाएर थकित भएको अवस्थामा आराम गर्ने थकाई मेट्नको निम्ती रमाईलो गर्ने गर्दछन् । असार महिनामा खेतबारीमा मेलापात गर्दा हातखुट्टा हिलोले खाने हुँदा रोपाई सकिएपछि तिउरी, विरंगनलाई कुटी गाभाको पात भित्र राखी बन्कसीले बाँधेर सुत्ने चलन रहेको छ ।
भोलिपल्ट हात खुट्टामा लगाइएको तिउरीको रङ आउने हुनाले रातो हुने गर्दछ । तिउरीले हिलोले खाएको ठाउँमा औषधिको रुपमा काम गर्दछ र हिलोले खाएको ठाउँ निको हुने जनविश्वास रहेको छ । त्यसैदिन गाउँलेहरु भेला भएर मैझार खानको लागि पर्मा आए–गएका सम्पूर्णलाई बोलाई मिठो मसिनो खुवाउने र आपसमा सुख दुःख साँटासाँट गर्ने चलन रहेको छ । यसले गर्दा समुदायमा एक अर्कामा प्रगाढ सम्बन्ध र भाइचारा स्थापित गराउँदछ ।
साउने सक्रान्तिको दिन चेलीबेटीलाई निम्तो दिएर मिठो चोखो खुवाउने र साँझपख घरघरमा राँको फाल्ने (लुतो फाल्ने) हुन्छ । भलायो अम्रिसो कुरिलो आदिको पात धुप राखेर चारवटा अगुल्टो चारै दिशा फालेर रोगव्याधि लैजा भन्ने गरिन्छ । यसरी राँको फाल्ने हुनाले यस पर्वलाई राङ्क्या तिवार वा राँके पर्व पनि भन्ने गरिन्छ ।
धेरैजसो मगर वस्तीमा साउने सक्रान्तिको साँझ लामा झाँक्री बसेर आगामी दिनको (वर्ष भरीकै) शुभ–अशुभ रोगव्याधी अन्नवाली, स्वास्थ्यस्थिति आदिका बारेमा भविष्यवाणी गर्ने तथा व्यक्तिगत ग्रहदशामा पनि विचार गरी दिने चलन पनि रहेको छ ।
रुकुमको काँक्री गाविसको लुगुम गाउँमा साउन १ देखि ३ गतेसम्म झाँक्री मेलानै लाग्ने गर्दछ । कुखुराको बलि पूजा गरेर तान्त्रिक मन्त्र र ठयाङग्रोको तालमा झाँक्री नाच्ने कार्य गर्दछन् । त्यसकारण रुकुम क्षेत्रतिर साउने सक्रान्तिलाई झाँक्री मेला पनि भन्ने गरिन्छ । साउने सक्रान्ति पर्व मनाइसकेपछि साउन १५ सम्म कुनै पनि किसिमको मनोरञ्जनात्मक कार्यक्रम नाच्ने गाउने बजाउने पूजाआजा वा झारफुक समेत गर्न बन्देज लगाउने चलन रहेको छ ।
अर्कोतर्फ डोल्पाली मगरहरुले साउन १ गते भाले काटेर मासु फापर र गहुँको रोटी खाएर अनि राँको फालेर यो पर्व मनाउछन् । रोल्पामा राँको फाल्ने जाँडरक्सी, मासु रोटी खाने र हिलो खेल्ने गरी सक्रान्ति मनाउने चलन रहेको छ ।
बाग्लुङको गल्कोट खुवा क्षेत्रतिर यो पर्व मनाउने सुरसार लगभग असार २२ गते देखि हुन्छ । पहिलो दिन मुल घरमा जौँको जमरा राखी असार २८ गते घरघरमा लिपपोत तथा सरसफाई कार्यक्रम गरी २९ गतेका दिन पिङ थाप्ने लिङ्गो काट्न वनमा जाने कार्यक्रम हुन्छ र सो दिनदेखि साउन २ गतेसम्म गाउँमा खेतिपाती तथा खनजोतको कुनै पनि कार्य गरिदैन ।
लिङ्गो काट्नुअघि फेदमा धुप ध्वजा राखेर पूजा गर्ने चलन रहेको छ । यसो गर्नाले पिङ सुरक्षित हुन्छ भन्ने मान्यता रहेको छ । गाउँका युवाहरुले वनबाट पिङ बनाउनका लागि गोल्फालोको लहरा लिएर फर्केपछि युवतीहरुले जम्मा गरेको खानेकुराहरु (रोटी रक्सी आदि परिकार) ल्याइन्छ र तन्नेरी र तरुनीहरुले जम्मा गरेको खानेकुराहरु देउतालाई चढाएपछि सबैले प्रसादको रुपमा खान्छन् र गाउँका मान्यजन तथा बुढापाकालाई समेत प्रसाद घरघरमा पु¥यादिन्छन् ।
असार ३० का दिन गाउँमा पिङ हाल्ने कार्यक्रम सम्पन्न पश्चात साउन १ र २ गतेसम्ममा मेलाकै रुपमा साउने सक्रान्ति मनाइन्छ ।