काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता गंगानारायण श्रेष्ठले बाबुराम पक्षका सांसद १० जनाभन्दा बढी रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भन्नुभयो, ‘अहिले हामीले कसको पक्षमा कति जना सांसद भनेर गणना गरेका छैनौं । तर १० जनाभन्दा बढी सांसद हामीसँग छन् । त्यो कुरा समय आएपछि सार्वजनिक गर्छौं ।’
यस्तै उहाँले बाबुराम भट्टराईलाई कारवाही गर्ने उपेन्द्र यादवलाई अधिकार नभएको बताउनुभएको छ । पार्टी केन्द्रीय समितिमा कसैको पनि बहुमत नपुग्ने उहाँको दाबी छ । ‘केन्द्रीय समितिको यकिन संख्या म भन्न सक्दिनँ । तर बहुमत कतै पनि पुग्ने खालको देख्दिनँ । उपस्थित भएमध्येको बहुमत हो । कानुनी पुनर्गठन हुने बेला २२९ नाम सार्वजनिक हुन्छ’, उहाँले थप्नुभयो ।
काठमाडौंमा सम्पन्न दुईदिने विस्तारित बैठकले पार्टी विभाजनभन्दा पनि पार्टी पुनर्गठनको निर्णय भएको नेता श्रेष्ठले बताउनुभयो । उहााले भन्नुभयो, ‘हामीले उपेन्द्र यादवलाई वीरगन्जको बैठक स्थागित गरेर काठमाडौंमै बैठक गरौं भनेकै हौं । अन्तिमसम्म रुपान्तरणको पहल गरेकै हौं । तर त्यो सम्भव भएन ।’
श्रेष्ठले पार्टीको नामबारे टुंगो नलागेको र गठबन्धनमा लचिलो हुने पनि बताउनुभयो ।