काठमाडौं । पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहर भवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक क्षेत्रीसहित सोही कार्यालयका लेखा अधिकृत रामप्रसाद बजगाईँ, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्थाका अध्यक्ष गणेशकुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा, कोषाध्यक्ष गणेश बहादुर सोदेम्बा र लाइफ टाइम इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक रोशन भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीहरूले तेह्रथुमको म्याङलुङ नगरपालिका ५ जिरीखिम्ती माझ गाउँमा पशु हाटबजार निर्माण गर्दा प्राप्त अनुदानमा अनुचित लाभ लिएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । पशु सेवा विभाग, पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयबाट आर्थिक वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण गर्दा काम नगरी भुक्तानी लिएका देखिएको अख्तियार ठहर छ ।
उनीहरू सबैसँग जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ ६२ पैसा बराबरको बिगो तथा कैद सजाय माग दाबी गरिएको छ ।