काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नेपालका कम्युनिष्टहरु अब एक हुने, सहकार्य गर्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।
आफैले दक्षिणपन्थी भनेको, यथास्थितिवादी भनेको, वुर्जुवा भनेको नेपाली कांग्रेसकालाई नेता मानेर बामपन्थी भनेका पार्टीहरु हिड्छन्, त्यसका सभापतिलाई प्रधानमन्त्री बनाउन सफलता ठान्छन्, कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई आफ्नो ठुलो विजय ठान्छन् भने यस्ता कथित बामपन्थीहरुसँग कसरी एकता हुन्छ भन्दै नेता रिजालले प्रश्न गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भन्नुभयो, ‘पहिला त उनिहरु कांग्रेसको चंगुलबाट मुक्त हुनुपर्यो, कांग्रेसलाई नेता मान्न छोड्पछि एउटा समानान्तर अवस्थामा गएपछि केहि कुरा हुन सक्छ तर एउटा गठबन्धनमा उहाँहरु पहिल्यैदेखि हुनुहुन्छ, नेपाली कांग्रेसलाई नेता मान्दै हिडिरहनुभएको छ । यो बेलामा कसरी बामपन्थी–बामपन्थी भनेर रहर गरेर हुन्छ ? बामपन्थी हुनलाई त पहिला बामपन्थमा फर्किनुपर्यो नी ? ।’
अर्को प्रसंगमा नेता रिजालले नेपालका सबै राजनीतिक दलसँगको सहकार्यका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको भ्रमण भएको हुन सक्ने बताउनुभयो ।
को–को सँग तालमेल र सहकार्य गर्ने भन्ने कुरा नितान्त आन्तरिक विषय भएकाले चिनिया टोलीको यो भ्रमण कम्युनिष्टलाई सहकार्य गराउने रणनितीको नभएको नेता रिजालले प्रष्ट पार्नुभयो ।
नेता रिजालले आफ्ना समस्याहरु समाधान गर्न नसकेर विवादित हुँदा अरुलाई दोष दिनुपर्नेे र राष्ट्रिय आवश्यकताले एकता हुँदा पनि त्यसको कसैलाई श्रेय दिनुपर्ने आवश्यक नरहेकाले एकता गराउन, मिलाउने विषयमा चिनको कुनै सरोकार नभएको बताउनुभयो ।
चिनियाँ कम्युनिष्ट टोलीले नेपाल आउनासाथ सत्तारुढ र सरकारको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री, केन्द्रिय सदस्य तथा परराष्ट्रमन्त्रीसँग भेट गरेकाले पनि सबै दलसँग राम्रो सम्बन्ध राख्न खोजेको पुष्टि हुने नेता रिजालको भनाइ छ ।