काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले एमाले कम्युनिष्ट नभएको दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव भुसालले लोकतन्त्रको विरुद्धमा उभिएको शक्ति बाम हुनै नसक्ने बताउनुभयो ।
भुसालले भन्नुभयो, ‘एमाले कम्युनिष्ट होइन, भएको भए हामी किन छोडेर हिड्थ्यौँ र ? त्यसले कम्युनिष्ट सिद्धान्त परित्याग गर्यो, यतिमात्रै नभएर नेपाली जनताले बलिदान गरेर ल्याएको लोकतन्त्रलाई समाप्त पार्ने प्रतिगमनकारी कदम चाल्यो, त्यो कसरी बामपन्थी हुन सक्छ, कसरी कम्युनिष्ट हुन सक्छ ? भएन र त हामीले त्यसको नेतृत्वको विरुद्ध विद्रोह गरेर निस्कन परेको हो ।’
आसन्न संघ र प्रदेशको निर्वाचनमा एमाले बाहेक बामहरुको चुनावी गठबन्धन बन्न सक्नेतर्फ भने महासचिव भुसालले संकेत गर्नुभयो । बाम गठबन्धनहरुको चुनावी गठबन्धनबारे छलफल चलिरहेको बताउँदै उहाँले जसपा पनि सहभागी हुने उल्लेख गर्नुभयो ।
यस्तै उहाँले केपी शर्मा ओलीले चाहेर सरकार चल्ने, नचल्ने नहुने बताउनुभएको छ । ओलीलाई सत्ताबाट हट्नुपेको सबैभन्दा ठुलो चोट परेको बताउँदै भुसालले लोकतन्त्रलाई समाप्त पार्न कदम चाल्ने व्यक्तिले सरकार फुटोस भन्ने चाहने आरोप लगाउनुभयो ।