काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि उपत्यका विशेष समिति बनाउने भएको छ ।
बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष समिति बनाउने प्रस्ताव गर्नुभएको हो । उपत्यकामा संगठन विस्तारको काम गर्ने यो समितिमा सम्पर्क समन्वय समितिलाई पनि मिसाइने प्रचण्डले बताउनुभएको छ ।
प्रचण्डले विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधानका लागि विशेष समिति बनाउने बताउनुभयो । समितिले दिने प्रतिवेदनका आधारमा अघि बढ्ने र छिट्टै राष्ट्रिय सम्मेलन गर्ने समेत उहाँले बताउनुभयो ।
अखिल क्रान्तिकारीमा अध्यक्ष पञ्चा सिंहले हालै मात्र केन्द्रीय कमिटीलाई पूर्णता दिनु्भएको थियो । तर असन्तुष्ट समूहले समानान्तर समिति बनाएको छ ।
प्रचण्डले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति बनाउने प्रस्ताव गर्नुभएको छ । बैठकले केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पास गरेको छ ।